नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

दिपक विष्ट
२१ असार २०८१, शुक्रबार १६:१९

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेसबीचको नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएको छ । राजनीतिक अस्थिरता र नीतिगत चेपुवामा परेको बजारलाई वर्तमान सत्ता समीकरणले नयाँ दिसा दिने कुरामा लगानीकर्ता आशावादी भएका हुन् । एमाले र कांग्रेसबीच सत्ता समीकरण गर्ने गरी लिखित सम्झौता भएदेखि शेयर बजारमा आशाको किरण देखिन थालेको छ ।

राजनीतिक अस्थिरताको भुमरीमा परेका शेयर लगानीकर्ता स्थिर सरकार पाउने आशले मनोबल बलियो बनाउँदै गएका छन् । राजनीति मुद्दासँगै अब आर्थिक विषयले पनि प्राथमिकता पाउनेमा आम लगानीकर्ता ढुक्क छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अबको मौद्रिक नीति खुकुलो ल्याउने सङ्केत बेला बेला सार्वजनिक कार्यक्रममा नै गर्दै आइरहेका छन् ।

यता, अर्थतन्त्र समेत सकारात्मक बनी रहेको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । यसले समेत शेयर बजारलाई उचाईमा पुग्न बल पुराउने देखिन्छ । अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ । गभर्नर महाप्रसाद अधिकारीलाई एमाले निकट ब्यक्तिका रूपमा लिइन्छ । अबको नयाँ सत्ता समीकरणमा प्रधानमन्त्री र अर्थतन्त्र एमाले पाउने सहमति भएको छ । आउने दिनहरूमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच अझै बढी समन्वय हुने र सोही अनुसार वित्त र मौद्रिक नीतिबीच तालमेल हुन सक्ने लगानीकर्ताको बुझाई छ ।

लगानीकर्ता बेला बेला परिवर्तन हुने नीतिको चेपुवामा परेका थिए । अबको नयाँ सत्ता समीकरणले सरकार पनि दिगो हुने विश्वास शेयर लगानीकर्ताले लिएका छन् ।

नयाँ सत्ता समीकरणले नियामक निकायबीच समन्वय बढ्ने हुँदा बजारले नयाँ गति लिन नेपाल ईन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘नयाँ सत्ता समीकरण पछि नयाँ सरकारको नेतृत्वमा केपी शर्मा ओली आउने र अर्थमन्त्रालय समेत एमालेको भन्ने कुरा छ । उता, राष्ट्र बैंकका गभर्नर समेत एमाले निकट हुन् । नियामक निकायहरूको समन्वय बढ्ने हुँदा बजारले नयाँ गति लिन्छ ।’

रौनियारले ओली नेतृत्वमा नयाँ सरकार आए मौद्रिक नीति निकै लचिलो आउने विश्वास रहेको बताए । लगानीकर्ता लामो समयदेखि नीतिगत चेपुवामा परेको हुँदा मौद्रिक नीति केही लचिलो आएर बजारले नयाँ गति लिन उनको तर्क छ ।

अब बन्न लागेको सरकार शेयर बजारका लगानीकर्ताले लामो समयदेखि खोजेको लगानीकर्ता तारा फुल्लेलले बताए । उनले भने, ‘शेयर बजारमा लगानीकर्ताले लामो समयदेखि अहिले बन्ने तयारीमा रहेको सरकारको खोजी गरेको हो । किन भने विगतमा अस्थिरता सरकारका कारण लगानीकर्ताले धेरै पिर मर्कामा परेका थिए । ३ वर्षदेखि शेयर बजार शिथिल थियो । अब बन्ने सरकार दिगो हुने हुँदा यसले शेयर बजारमैत्री पोलिसि र नीति ल्याउनेमा लगानीकर्ता ढुक्क छौँ ।’

एमाले सरकार नहुँदा गभर्नर महाप्रसाद अधिकारीको सकारात्मक भूमिका नभएको हुँदा बजार शिथिल रहेको उनले भनाइ छ । ‘एमाले सरकार पछिल्लो समय नबन्दा गर्भनरले समेत सकारात्मक भूमिका खेलेको देखिएन । अब भने सरकार र राष्ट्र बैंकको तालमेल मिल्दा मौद्रिक नीति लचिलो आउने विश्वास रहेको छ’ फुल्लेलले भने ।

नयाँ सरकारबाट लगानीकर्ताले नीतिगत सुधार हुने आश राखेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘चुनाव भएदेखि यसबीच ३/४ पटक सरकार परिवर्तन भयो । लगानीकर्ताले जुन अपेक्षा राखेका थिए त्यो पुरा हुन सकेन । सरकार नै अस्थिर भयो । अब आउने नयाँ सरकार दिगो हुने हुँदा शेयर बजारका लागी नयाँ पोलिसि बन्छ । जसले गर्दा लगानीकर्ताहरू समेत उत्साहित छन् ।’

ढकालले स-साना पार्टी मिलेर भन्दा संसदका दुई ठुला दल मिलेर सरकार बनाउने भएपछि उद्योग व्यवसायीदेखि सबै सेक्टरका लगानीकर्ता उत्साहित भएका बताए । स-साना दलहरूको खिचातानीले गर्दा धितोपत्र बोर्डको समेत अध्यक्ष चयन हुन नसकेको उनको तर्क छ । दुई वटा मात्र पार्टी सरकारमा हुँदा यसले अर्थतन्त्रमा नयाँ लय दिने विश्वास रहेको बताए । मौद्रिक नीति समेत अब शेयर बजारमैत्री आए बजारले नयाँ गति लिने उनको तर्क छ ।

लगानीकर्ता दिपेन्द्र अग्रवालले एमाले सरकार आउँदा मौद्रिक नीति लचिलो आउने बताउँदै नयाँ सत्तालाई लगानीकर्ताले स्वागत गर्ने बताए । ‘नयाँ सत्ता समीकरणलाई लिएर म एकदमै सकारात्मक छु । एमाले सरकार बन्दा गभर्नर अधिकारीले मौद्रिक नीति पक्कै लगानीकर्तामैत्री ल्याउँछन् । जसले गर्दा बजारलाई नयाँ उचाई कायम राख्छ ।

राष्ट्र बैंकले नीतिगत वाधा फुकुवा गरे भने एक वर्षमा शेयर बजारले ३२ सय बिन्दु छुने अग्रवालले बताए । उनले भने, ‘नयाँ सत्ता समीकरणले सरकार र गर्भनरको तालमेल मिल्छ । मौद्रिक नीति मार्फत नीतिगत बाधाहरू सबै फुकुवा भयो भने बजारले अबको एक वर्षमा ३२ सय बिन्दु छुने छ ।’

अर्का लगानीकर्ता केशव कोइरालाले पनि नयाँ सत्ता समीकरणबाट आउने एमाले सरकारको प्रधानमन्त्री र अर्थमन्त्री दुबैलाई लगानीकर्ताले स्वागत गर्ने बताए । उनले शेयर बजारलाई लगानीकर्ता मैत्री बनाउने कार्यमा अब आउने सरकारले नयाँ कदम चाल्नेमा विश्वास व्यक्त गरे । अर्थतन्त्र समेत सुधार तिर अघि बढी रहेको र ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको हुँदा मौद्रिक नीति लचिलो आउँदा बजारले नयाँ उचाई राख्ने तर्क उनको छ ।

3 thoughts on “नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*