इजरायल अपडेट : ‘घाइते भएका केही नेपालीको मृत्यु’, खासमा कति छन् इजरायलमा नेपाली ?

२१ आश्विन २०८०, आईतवार १५:२४

काठमाडौं । इजरायलमा शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका मध्ये केही नेपालीको मृत्यु भएको खबर छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा परेर घाइते भएका मध्ये केही नेपालीको मृत्यु भएको बताइएको छ । यद्यपि, सरकार वा परराष्ट्र मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुका अनुसार घाइते मध्ये ७ जना नेपालीको मृत्यु भएको छ । उनीहरुका अनुसार कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको बताइएको छ । नेपाली दूतावास इजरायलले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । मृत्युबारे पनि औपचारिक जानकारी दिएको छैन ।

यता, परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे संसदलाई जानकारी गराएका छन्। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा गरेको आक्रमणपछिको अवस्थाबारे परराष्ट्र मन्त्री साउदले आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराएका हुन्।

परराष्ट्रमन्त्री साउदले दिएको जानकारी अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपाली केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्। विद्यार्थीहरूमध्ये रामपुर कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायलमा छन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ। त्यहाँ रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्र मन्त्री साउदले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*