केयरगिभरका लागि इजरायल जान कति चाहिन्छ योग्यता ?, कति लाग्छ खर्च, कति हुन्छ कमाई ?
काठमाडौं । आकर्षक श्रम गन्तव्य मुलुक इजरायलले १३ सय केयरगिभर लैजाने भएको छ । इजरायलले दुई वर्षअघि पहिलो पटक ११ सय केयरगिभर लैजाँदा १० हजारजनाले आवेदन दिएका थिए ।
त्यो बेला आवेदन दिनेमध्ये पाँच हजार चार सय पुरुष र चार हजार दुई सय महिला थिए । इजरायलले त्यो बेला ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष मागेको थियो । त्यसबेला माग गरिएका मध्ये विभिन्न चरण केही व्यक्ति तीन महिनाअघिसम्म इजरायल पुगेका छन् । यो पल्ट त्यसरी जाने प्रक्रिया सहज बनाउने तयारीमा सरकार छ ।
कति हो, केयरभियरको योग्यता ?
केयरगिभरका लागि इजरायल जाने नेपालीले कम्तीमा पनि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्देशनअनुसार केयरगिभरका लागि इजरायल जाने कामदारले सरकारी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट कम्पतीमा तीन महिनाको तालिम लिएको हुनुपर्नेछ ।
यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएससम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गर्नेले समेत इजरायलमा केयरगिभरका लागि काम गर्न आवेदन दिन सक्ने निर्देशिकामा उल्लेख छ ।
कामदारको उमेर भने २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । १ दशमलव ५ मिटर उचाइ र ४५ किलोग्राम तौल हुनै पर्नेछ । एक पटक इजरायल गई काम गरेको कामदार दोस्रो पटक जानका लागि योग्य मानिने छैन । यस्तै, बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास गरेको वा कार्यरत रहेको कामदारले पनि इजरायलका लागि आवेदन दिन पाउने छैन ।
इजरायल जान कति लाग्छ, खर्च ?
सामान्य लागतमा आकर्षक कमाई हुने भएपछि नेपाली श्रमिक उत्साही छन् । रोजगारीका लागि इजरायल जान करिब एक लाख ६५ हजार लागत तोकिएको छ ।
यो खर्च श्रमिक आफैंले व्यहोर्नु पर्ने हुन्छ । जसमध्ये हवाइजहाज टिकटका लागि करिब एक लाख ४० हजार, पासपोर्ट खर्च पाँच हजार, अभिमुखीकरण तालिम र मेडिकलका लागि १० हजार रुपैयाँ तोकिएको छ । जहाज टिकटको मूल्य तलमाथि भए श्रमिकले सोहीअनुसार झुक्तानी गर्नुपर्नेछ ।
यस्तै, कल्याणकारी कोषमा दुईवर्षे भिसाका लागि एक हजार पाँच सय र तीन वर्षे भिसाका लागि दुई हजार पाँच सय खर्च लाग्नेछ । साथै अब जाने नेपाली श्रमिकले सामाजिक सुरक्षा कोषका लागि दुई हजार रुपैयाँ पनि तिर्नु पर्नेछ ।
कति हुन्छ, कमाई ?
इजरायल रोजगारीमा जाने श्रमिकले मासिक १६ सय अलर अर्थात् दुई लाख रुपैयाँ पारिश्रमिक पाउँछन् । एक पल्ट एक लाख ६५ हजार खर्च गरेर इजरायल पुगे महिनाको दुई लाख रुपैयाँ कमाइ गर्नेछन्, नेपाली श्रमिकले । नेपाल र इजरायलबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । केही दिनअघि मात्रै दुई देशका सरकारी टोलीबीच वार्ता भएको छ ।