जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ? (सूचीसहित)
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २९ अर्व बढी रुपैयाँको बीमा व्यवसाय भित्र्याएका छन् ।नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण भदौ महिनासम्म विभिन्न बीमालेखहरुबाट ७ प्रदेश मार्फत २९ अर्ब १३ करोड रुपैयाँको बीमा व्यवसाय गरेका हुन् ।
संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न प्रदेशहरुबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धि सावधिक, बैदेशिक रोजगार म्यादि, म्यादि र लघु जीवन बीमा वापत सो रकम संकलन गरेको हो ।
जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्म सबैभन्दा बढी बाग्मती प्रदेशबाट बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बिभिन्न बीमालेखहरुमा बाग्मती प्रदेशबाट कुल १४ अर्व २९ करोड ३१ लाख रुपैयाँ संकलन गरेका छन् ।
देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।
त्यस्तै, दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । जीवन बीमा कम्पनीहरुले यस प्रदेशमा बिभिन्न बीमा लेखहरुबाट कुल तीन अर्ब ९४ करोड ९७ लाख रुपैयाँ आर्जन गरेका छन् ।
त्यस्तै, बिभिन्न बीमालेखहरुबाट कोशी प्रदेशबाट तीन अर्व ४३ करोड ८५ लाख रुपैयाँ, मधेस प्रदेशबाट कुल दुई अर्ब ३७ करोड ८८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट कुल दुई अर्ब ७८ करोड ६० लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ७७ करोड ८ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट एक अर्ब ५१ करोड ४१ लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् ।