नेपाल वेयर हाउजिङले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई छुट्याईएको कुल १३ लाख ७५ हजार कित्ता शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारमा रहेको नेपालीहरुका लागि बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन भने आवेदन दिने मिति कात्तिक २४ गतेसम्म रहेको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले मेरोशेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडबाट ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ पाएको छ यसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानकारी गराउँदछ ।
कम्पनीको आन्तरिक प्रतिफल दर १५.१९% रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म कम्पनी प्रतिशेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो । चालु आर्थिक वर्षमा प्रतिशेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ भने आगामी आर्थिक वर्षमा प्रतिशेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।