नेपालले आज रोमानियासँग श्रम सम्झौता गर्दै, ‘चोर’ बाटोबाट त्यहाँ पुगेकालाई पनि वैध बनाउने प्रयास
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी नेतृत्वको सरकारी टोली श्रम सम्बन्धी समझदारी गर्न युरोपेली मुलुक रोमानिया पुगेको छ ।
मन्त्री भण्डारी नेतृत्वको टोलीमा श्रमसचिव केवलप्रसाद भण्डारी र अन्य ४ जना गरी पाँच सदस्य छन् । मन्त्री भण्डारी नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले शुक्रबार (आज) रोमानियासँग श्रम समझदारी (एमओयु) गर्ने बताइएको छ ।
यस्तै, आउँदो मंगलबार २३ गते नेपाली प्रतिनिधिमण्डलले अर्को युरोपेली मुलुक जर्मनीसँग श्रम समझदारी (एमओयु) गर्ने कार्यतालिका छ ।
सरकारले यि दुई मुलुकसँग श्रम समझदारी गर्नासाथ नेपाली श्रमिक वैधानिक रुपमा पठाउने बाटो खुल्ने श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले बीमापोष्टलाई बताए । श्रम समझदारीपछि त्यसको कार्यान्वयनको ढाँचा निर्माण गर्न दुई देशका प्रतिनिधि सम्मिलित समिति बन्ने उनले जानकारी दिए । त्यो समितिले नै कामदार कसरी लैजाने भन्ने सन्दर्भको निधो गर्नेछ ।
नेपाली श्रमिकका लागि आकर्षक श्रम गन्तव्य मानिएका रोमानिया र जर्मनी पठाउने नाउँमा विचौलियाले उत्पात ठगेपछि यो समझदारीको तीब्र प्रयास गरिएको सहसचिव पोखरेलले बताएका छन् । विभिन्न प्रक्रियाबाट ती देश पुगेका नेपाली नागरिकलाई समेत वैधानिक बनाउने विषय प्राथमिकताका साथ राखिएको उनको भनाई छ ।
अघिल्लो आर्थिक वर्षमा मात्रै रोमानियाका लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए ।