भृकुटीमण्डपमा भोलिदेखि ‘जीएआई फूड एण्ड बेभरेज हस्पिटालिटी २०२३’ सुरु हुँदै
काठमाडौं । ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ भोलिदेखि २१ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ नेपालमा सबैभन्दा तीव्र बृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो हो ।
हाल खाद्य, पेय पदार्थ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरूका लागि नाफा तथा राजस्व को राम्रो केन्द्र बन्दै गर्दा यिनीहरुको संख्यामा भारी वृद्धि भएको देख्न सकिन्छ । विगत २० वर्ष लाई मात्र नियाल्ने हो भने होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू, टेक–अवे फूड आउटलेटहरू, सड़क खाना बिक्रेताहरू र किराना पसलहरू हाम्रा वरपर अनगिन्ती खुलेका छन् ।
साथै आगामी एक–दुई वर्षमा ३ देखि ५ तारे श्रेणीका २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् । सन् २००६ र २०१९ को अवधिमा वार्षिक ७.३ प्रतिशत वृद्धिदर का साथ खाद्य तथा पेय पदार्थ उद्योग तिब्र रूपमा बढेको छ जुन समग्र उत्पादन उद्योगको तुलनामा निकै उच्च हो । नेपालको समग्र अर्थतन्त्र ३ प्रतिशतदेखि ४ प्रतिशतको दरले बढेको बेला एफएमसीजी उद्योग २० प्रतिशतले वृद्धि भएको देखिन्छ जुन निकै उल्लेखनीय छ ।
सन् २०१७–१८ मा नेपालले १३ हजार ५५१ करोड बराबरको खाद्य तथा पेय पदार्थ आयात गरेको थियो साथै ३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५,५०० रहेको छ जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन्। साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३.८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।
यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ पाउनेछन् साथै गत वर्षको तुलनामा यस वर्ष २५% ले प्रदर्शकहरुको सङ्ख्या मा पनि वृद्धि रहेको आयोजक बताउनुहुन्छ । मेलामा ५००० उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू संचालन हुनेछन् ।
कार्यक्रममा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुनेछ । साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्य बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन् ।