विश्व बैंकले भन्यो-नेपालको अवस्था कोरोनाकाल भन्दा खत्तम, जीडीपी १.९ प्रतिशतमा खुम्चिने
काठमाडौं । विश्व बैंकले यो वर्ष (सन् २०२३ मा) नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । ।
साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै विश्व बैंकले यो वर्षको तुलना आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने भने पनि यस वर्ष १.९ प्रतिशतमा खुम्चिने अनुमान गरेको हो ।
सन् २०२४ मा नेपालले ३.९ प्रतिशत र सन् २०२५ मा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ । यो वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रूपमा चित्रित गरेको छ ।
चालु खाता घाटा ६.१ प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति ७.८प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ । नेपालले आउँदा दुई वर्ष मुद्रास्फीतिको चर्को मार खेप्ने विश्व बैंकको प्रक्षेपण छ । मुद्रास्फीति सन् २०२४ मा साढे ७ प्रतिशत र सन् २०२५ मा ६.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
सन् २०२० मा कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक भएको थियो । त्यसयता यो वर्ष नेपाल सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । यो वर्षको आर्थिक वृद्धिदर पछिल्लो दशकयताको औसत आर्थिक वृद्धिदर भन्दा न्यून हो ।
कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा सङ्कुचन आउनसक्ने विश्व बैंकको अनुमान छ ।
सन् २०२५ सम्ममा नेपालको चालु खाता घाटा जीडीपीको तुलनामा ३.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालको जीडीपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको हिस्सा बढ्ने देखिएको छ ।
विद्युत उत्पादनमा मात्रै सुधार देखिएको र त्यसले औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान विश्व बैंकले गरेको छ ।
केही दिनअघि एशियाली विकास बैंक (एडीबी)ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो ।
एडीबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ र सन् २०२४ मा ४.३ प्रतिशत रहने तथ्य प्रविष्ट गरेको थियो । विश्व बैंकले हालसालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको थियो ।