नेपाल टेलिकमको नेतृत्व महिलाको काँधमा, संगीता पहाडी निमित्त प्रबन्ध निर्देशक नियुक्त
काठमाडौं । सरकारी स्वामित्वको दूर सञ्चार कम्पनी नेपाल टेलिकमको नेतृत्व महिलाको काँधमा आएको छ । टेलिकमका प्रबन्ध निर्देशक भ्रष्टाचारमा मुछिएपछि नेतृत्व कम्पनी कै नायव प्रबन्ध निर्देशक रहेकी संगीता पहाडी अर्यालको काँधमा आएको हो ।
विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको छ । पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशकको हैसियतमा टेलिकमको नेतृत्व गर्न एवं आवश्यक कार्यसम्पादन गर्ने अधिकार दिइएको छ ।
भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार गरेको ठहर गरेर मुद्दा दायर गरेपछि कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल स्वतः निलम्बनमा परेका छन् ।
अदालतबाट उनीविरुद्धको अभियोगको छिनोफानो नभएसम्म टेलिकमको नेतृत्व पहाडीले सम्हाल्ने बताइएको छ । यसअघि टेलिकमको प्रमुख प्राविधिक अधिकृत (नायव प्रबन्ध निर्देशक) रहेकी पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।
कम्पनीमा जानुअघिको नेपाल दूरसञ्चार संस्थानमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१ मा इन्जिनियरको स्थायी नियुक्ति पाइन् । १८ माघ २०७८ मा उनी नायव प्रबन्ध निर्देशकमा बढुवा भइन् ।
निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै पहाडीले सबै तह र निकायसँग सहयोगको अपेक्षा राखिन् । उनले कम्पनीलाई थप गति दिन सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएकी छन् ।