कुमारी बैंकलाई ५ अर्बको ऋणपत्र ल्याउन बोर्डको अनुमति
१६ आश्विन २०८०, मंगलवार १०:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कुमारी बैंक लिमिटेडलाई पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो ।
सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ ।
यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ । कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।