कोरोना बीमाको नौ अर्ब ६० करोड भुक्तानी बाँकी, बीमा कम्पनीहरुले कहिले तिर्छन बीमितको पैसा ?
काठमाडौं । कोरोना महामारीको समयमा २०७८ सालमा बिक्री गरिएको कोरोना बीमा पोलिसीले सिर्जना गरेको दायित्व बापतको रकम करिब नौ अर्ब ६० करोड नेपाली निर्जीवन बीमा कम्पनीहरुले अझै भुक्तानी गरेका छैनन् । तत्कालिन अवस्थामा बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले करिब एक अर्ब २० करोड रुपैयाँ बराबरका कोरोना बीमा पोलिसी बिक्री गरेका थिए ।
हालसम्म पहिलो चरणमा साढे तीन अर्ब र दोस्रो चरणमा गतवर्ष एक अर्ब ८१ करोड सहित कूल पाँच अर्ब ३१ करोड रुपैयाँ भुक्तानी भइसकको छ । यस बाहेक केही कम्पनीहरुले थप आफ्नै कोषबाट भुक्तानी गरेको गणना गर्दा साढे पाँच अर्बभन्दा बढि भुक्तानी भइसकेको छ । कोरोना बीमामा करिब १५ अर्ब रुपैयाँ बीमा दावी परेको थियो ।
तत्कालिन बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा साढे तीन अर्ब रुपैयाँसम्मको दायित्व बीमा कम्पनी र बीमा समितिले व्यहोर्ने र बाँकी दायित्व सिर्जना भएमा नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो । सो बमोजिम भटाभट बीमा पोलिसी बिक्री गरेका बीमा कम्पनीहरु अहिले सरकारबाट लिनुपर्ने भनिएको जोखिम बापतको रकम नपाउँदा बीमा पीडितहरुले रकम पाउन सकेका छैनन् ।
खासमा उतिबेला तत्कालिन बीमा समितिले गम्भिर त्रुटी गरेको थियो । विश्वमा कही पनि महामारीको बीमा हुुँदैन र गरिँदैन तर नेपालमा कोरोना महामारीका बीमा गर्ने निर्णय अपरिपक्व, गैरकानुनी र बीमाको सामान्य सिद्धान्त विपरितको निर्णय गरेको थियो । दोस्रो नेपालको बजेटरी सिष्टमबारे राम्रो ज्ञान नभएकोले कथित कोरोना बीमा मापदण्ड जारी गरेर नेपाल सरकारको नाममा असिमित दायित्व सिर्जना गराउने काम गरेको थियो ।
उक्त घटनामा बीमा कम्पनीहरुको पनि गम्भिर त्रुटी थियो । हालका नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीसहितका व्यक्तिहरुले महामारीको बीमा गर्नु हुँदैन भनेर भन्नुपर्नेमा त्यसो भन्न सकेनन् । साथै नेपाल सरकारले व्यहोर्ने भन्ने सामान्य कर्मचारीको भरमा अर्बौ रुपैयाँको दायित्व नेपाल सरकारले व्यहोर्ने भ्रममा परेर कोरोना बीमा पोलिसी तछाड मछाड गर्दै बिक्री गरेका थिए ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री
कोरोना बीमा नेपाली बीमा जगतमा नियामक र बीमा कम्पनीहरु सबै चुकेको र कति कतै व्यवसायिक दक्षता छैन भन्ने तथ्य पुष्टि गर्ने एउटा कालो इतिहास हो । बीमितहरुको हातमा यिनै बीमा कम्पनीहरुले दिएको बीमापोलिसी छ । बीमितले कोरोना बीमाको रकम बीमा कम्पनीबाटै खोजिरहेका छन् । तर, चार वर्ष पुग्दा लाग्दा समेत बीमितले कहिले पैसा पाउँछन् अझै अन्योल छ ।
गत वर्ष तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राज्यकोष दुरुपयोग गरेर चुनावको बीचमा कोरोना बीमाको रकम वितरण गर्न एक अर्ब रुपैयाँ निकासा गरे । तर, सो रकम बेरुजूमा परिसकेको छ । त्यसैले अब अर्थमन्त्रालयबाट कोरोना बीमा बापतको रकम निकाशा गर्न लगभग असम्भव जस्तै छ ।
अब प्रश्न उठ्छ, त्यसो भए के बीमा कम्पनीहरुले बीमितलाई कोरोना बीमाको पैसा दिँदैनन् त ? नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीसँग कोरोना बीमितले रकम कहिले पाउँछन् भनेर जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहदैनन् । कोरोना बीमितलाई रकम दिनुपर्छ भनेर चंकी क्षेत्रीजस्तै सबै बीमा कम्पनीहरु पन्छिदै आएका छन् ।
जनतासँग कोरोना बीमाबापतको शुल्क उठाइसकेका बीमा कम्पनीहरुले जनताको शुल्क त्यतिकै दम्पच बनाउन सक्लान ? वा यिनै बीमा कम्पनीहरुले बाध्यभएर जनतालाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्छन् त्यो प्रतिक्षाको विषय भएको छ ।