स्थानीय तहसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको ललितपुरका कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएको छ ।
कोन्ज्योसोम गाउँपालिकामा असोज १२ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि सोही गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले स्वास्थ्य बीमा र कृषि तथा पशुपन्छी बीमामा रहेका समस्याहरू प्रति सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।
त्यस्तै, महांकाल गाउँपालिकामा असोज ११ गते गरिएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा प्रमुख अतिथि सोही गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गरेका थिए । उनले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बाचा गरेका छन् । उक्त गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले न्यून आय भएका बर्ग सहित सबै नागरिकसम्म बीमाको पहुँच पुर्याउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने भनाई राखेकी थिइन् ।
त्यसैगरी, बागमती गाउँपालिकामा असोज ११ गते भएको कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि तथा पशुपन्छी बीमालाई अझै स्पष्ट पार्न र गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र राख्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रमहरुमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले घटनाको निश्चित समय थाहा नहुने भएकाले गाउँपालिकाका सेवासँग बीमालाई आवद्ध गरेर अनिवार्य गर्न गाउँपालिकासँग आग्रह गरको थिए । उनले आर्थिकरूपमा सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न तथा विपन्न बर्गको बीमा गाउँपालिकाबाट नै गरिदिने व्यवस्था गर्न सुझाव समेत दिएका थिए ।
सो कार्यक्रमहरूमा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास एवम् पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा प्राविधिकरूपमा जटिल रहेको, बीमा कम्पनीहरूले कृषि बीमा गर्न नमानेको, बीमांकमा एकरूपता नभएको, दाबी भुक्तानी झन्झटिलो र लामो रहेको, बीमा कहाँ र कसरी गर्ने भन्ने स्पष्ट रुपमा थाहा नभएका गुनासोहरू व्यक्त गरेका थिए ।
कार्यक्रमका सहभागीहरूले बीमा दाबी भुक्तानीलाई सरल र सहज र छिटो बनाउन, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र स्थापना गर्न, बाली बीमालाई अझै सशक्त पार्न, विपन्न बर्गसम्म बीमाको पहुँच पुर्याउन, भैंसी र बाख्राको मूल्य निर्धारणमा देखिएको समस्याको समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका थिए ।
उक्त आयोजित कार्यक्रमहरुमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, चापागाउँस्थित बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख र कृषकहरू लगायतको सहभागिता रहेको थियो ।