अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा कति पर्यो आवेदन ?
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब ५९ करोड १ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा आज बिहान सम्ममा २ लाख ३५ हजार ४५८ जना सेयरधनीले २ करोड ५९ लाख १ हजार १४० कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् ।
सर्थ, अझै ७ करोड ९९ लाख ९८ हजार ८६० कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ । अपर तामाकोशीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ ।
यस हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज २२ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जनाएको छ । यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।