त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

गैर कानूनी रुपमा निजी सुरक्षागार्ड प्रयोग गरेर अराइभलको चेकजाँच
१२ आश्विन २०८०, शुक्रबार १७:५३

काठमाडौं । ‘नेपालमा जे हुन्छ, मध्यरात मै हुन्छ’, यो अहिले जनकथन नै भइसकेको छ । त्यसरी नै ३ साउनमा रातकै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट गेटपास भएर क्विन्टल सुन बाहिरिएपछि केही समय खैलाबैला मच्चियो । तत्कालै सुन तस्करीमा संलग्न भनिएका ६ जना पक्राउ परे ।

भोलिपल्टै ४ साउनमा दुई कार्गो सञ्चालक समेत पक्राउ खाए । त्यसैदिन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा कुमार ढकाल र भन्सार अजेन्ट यादव पराजुली निलम्बनमा परे भने भन्सार अधिकृत सन्तोष चन्द निलम्बनको सिफारिसमा परे । त्यति मात्रै होइन, हठात भन्सार विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन भयो । वाह ! क्या वात्, कति छिटो ठाउँको ठाउँ कारबाही ! मान्छेहरु अचम्म परे । र, उपल्लो ओहदामा बस्ने (कर्मचारीदेखि मन्त्री, प्रधानमन्त्रीसम्म) सबैले स्याबासी खाए । अहिले पनि स्यावासी लिने दिने र पोलापोल गर्ने क्रम जारी नै छ ।

तर, त्यति धेरै सुरक्षा निकायको पहरेदारी हुँदा हुँदै त्यत्रो परिमाणको सुन कसरी गेट पास भयो ?, गाँठी कुरो कसैले पत्तो लगाउन सकेनन् । त्यसै कारण होला, अहिलेसम्म पनि सुन प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्न नसकेको । विमानस्थलमा सुरक्षातर्फ नेपाल प्रहरीका डीआईजी हाकिम छन् । एसपीको नेतृत्वमा मात्रै ६५० जना प्रहरी खटिएका छन् । त्यति मात्रै होइन प्रहरीको विशेष व्यूरो, राष्ट्रिय अनुसन्धान, लागु औषध, मानब बेचविखन अनुसन्धान, सशस्त्र तथा नेपाल आर्मी, यि सबैको बाक्लै उपस्थिति छ, टीआईएमा ।

डिपार्चर अर्थात् प्रस्थानतर्फ विभिन्न तहमा कडाईका साथ चेकजाँच हुन्छ । त्यसमा कुनै प्रकारको समस्या छैन । व्यक्तिका हकमा आउने होस् वा जाने, चेकजाँच स्मार्ट एवं चुस्त छ । जब अराइभलतर्फ व्यागेज, लगेज र कार्गोको कुरा आउँछ, अवस्था पूरै अस्तव्यस्त छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार व्यागेज र लगेजलाई कार्गो मानिदैँन । नेपालमा व्यागेज र लगेजलाई समेत कार्गो भनेर भन्सार कार्यालय नै विमानस्थलभित्र जाँच पासको खोँचे थापेर बसेको छ । जाँचपास र जाँचकीको अवस्था हेर्दा उदेक लाग्दो छ ।

कसरी जाँच हुन्छ व्यागेज र लगेज ?
कस्तो निम्छरो जाँच सिस्टम ? टीआईएको अराइभलमा व्यागेज वा लगेज स्क्यान गर्न राखिएका स्क्यानर अत्याधुनिक होइनन् । ति स्क्यानर ब्ल्याक एण्ड वाइट जमानाको जस्ता देखिन्छन् । बराबर काम गर्छन् वा गर्दैनन्, माकुराले जालो लगाइसकेको भए पनि कसैले तिनको अवलोकन गर्दैनन् । तर, रात दिन २४ घण्टा चलिरहन्छन् । स्यानर मेसिनमा बस्ने जाँचकी पनि कुनै विशेष प्राविधिक ज्ञान प्राप्त वा प्रशिक्षित हुन जस्तो देखिँदैनन् । सामान्य कम्युटर चलाउन जाने भइहाल्यो ।

विमानस्थल मै कार्यरत एक जना अधिकारी भन्छन्, ‘यो स्क्यानरले झोला वा व्यागेजभित्र के छ भन्ने थाहा पाउँदैन, स्क्यान गर्दा सबै कालो देखाउँछ । यदि, कसैले कुनै इलेक्ट्रिक सामान, सुनका विष्कुट वा हातहतियार ल्याएछ भने पनि बाहिरपट्टी कुनै प्रकारको कभर वा लेपन लगाएको रहेछ, भने त्यो बाहिरभित्र एउटै ‘काल्लै’ देखाउँछ । त्यसको भित्र के कस्तो चिज बस्तु छ, भनेर भन्सारले राखेका स्क्यानरले थाहा हुँदैन ।’

अझ अचम्म के छ, भने भन्सार कार्यालयले स्क्यानर वा चेकिङमा राखेका कर्मचारीको चित्तमा जे छ, त्यहि हुन्छ । उनको चित्तमा गडबड जस्तो लागे मात्रै ‘आरसी’ लेखिदिन्छन् । ‘आरसी’को अर्थ हो, रि चेक अर्थात् पुनःजाँच । आरसी लेखेका सरसामान पुनःजाँचमा पर्छन् । त्यो पनि प्रहरी वा सुरक्षा निकायका प्रतिनिधिले झोला वा व्यागेज खोलेर हेर्न पाउँदैनन् । उनीहरुलाई त्यो छुने पनि अधिकार छैन । त्यो जाँच्ने निजी सेकुरिटिज कम्पनीका प्रतिनिधिहरुले हेर्छन् ।

आरसी नलेखिएका सबै व्यागेज वा लगेज व्यक्तिले सरासर गेटपास गरेर गन्तव्यतिर लैजान्छन् । ति, अधिकारी भन्छन्, ‘यहाँ के को सुरक्षा जाँच हुन्छ र ? प्रहरीले टाढाबाट हेर्ने हो, छुन, हेर्न वा झोला खोतल्न पाइँदैन । निजी सेकुरिटीले आरसी लेखेका व्यागेज र लगेज हल्काफुल्का हेर्छन् ।’

व्यागेज र लगेज स्क्यान भएर यात्रुले टिप्ने ठाउँ, यसरी लस्करै ५–७ वटा स्क्यानरबाट व्यागेज वा लगेज यो पट्रीमा आउँछ

कसरी बाहिरिन्छ कार्गो ?
सामान्य कार्गो होस् वा कमर्सियल कार्गो । त्यो हवाइजहाँजबाट झारेको ठाउँबाट सोझै गौचरस्थित भन्सार कार्यालय रहेको पारवहन गोदाम आइपुग्छ । कमर्सियल कार्गो विमानबाट ओराले कै ठाउँबाट सोझै पारवहन गोदाम लगिन्छ । अझ भनौँ त्यो बाह्य मुलुकबाट जस्तो आयो त्यस्तै, पारवहन गोदाम पुग्छ । बीचमा कहिँ कतै चेक वा जाँच हुँदैन त्यो । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले उपलब्ध गराएको यार्डमा सुरक्षित राखिएको कार्गो सम्बन्धित खरिदकर्ता वा जमानीकर्ताले भन्सार शुल्क लगायत कागजी प्रक्रिया पुरा गरेपछि सोझै गन्तव्यमा लगिन्छ ।

यो हवाइजहाजले कार्गो खसाल्ने ठाउँ

त्यो कार्गो कतै चेकजाँच नभई सरासर यो पारवहन गोदाम आइपुग्छ


‘खोई कहाँ हुन्छ, जाँच ? कतै पनि हुँदैन । त्यो कार्गोभित्र कसले के ल्यायो ? केही थाहा हुँदैन । कसैले सुराक दिएका खण्डमा मात्रै राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको अवस्था छ अहिलेसम्म, नभए भन्सारको कागजी प्रक्रिया पूरा गरेर कार्गो निर्वाध बाहिरिन्छ’,–एक जना सुरक्षा अधिकारीले बीमापोष्टसँग भने । क्विन्टल सुनबारे पनि कसैले सुराक दिएर पक्राउ गरिएको ति अधिकारीले बताए ।
उनले टीआईएको अराइभलमा देखिएको सुरक्षा व्यवस्था र जाँचको अवस्थाले मुलुकलाई ठूलो खतरामा पार्नसक्ने तर्फ संकेत गरे । उनले भने, ‘यहाँ सुनको कुरा मात्रै होइन, कसैले हातहतियार तथा गोला बारुद ल्याएको खण्डमा पनि सजिलै गेटपास हुनसक्छ । यो राष्ट्रिय सुरक्षाका हिसाबले समेत गम्भीर विषय हो ।’

निजी सेक्युरिटी कम्पनीलाई अराइभल जाँचको जिम्मा
विमानस्थलको भन्सार कार्यालयको गेटमा मात्रै होइन विमानस्थलभित्रै अराइभल(आगमन)मा निजी सेक्युरिटी कम्पनीका प्रतिनिधिहरु खटिएका छन् । त्यो पनि व्यागेज तथा लगेजको स्क्यान गर्ने ठाउँमा । प्रहरी वा सुरक्षा निकायका प्रतिनिधिहरु टाढाबाट हेर्ने गोठालो मात्रै हुन् ।
अराइभलमा जाँचपास गर्ने र कार्गो हेर्न भन्सारले स्क्यानरमा एक जना कर्मचारी राखेको छ भने बाँकी स्टार्सफोर्स सेक्युरिटी कम्पनीका प्रतिनिधिहरु खटाएको छ । आर्थिक वर्ष ०७७–०७८ मा टेण्डरमार्फत विमानस्थल भन्सारमा प्रवेश गरेको स्टारफोर्सका ९ जना प्रतिनिधि विमानस्थलभित्र र २ जना भन्सार कार्यालयमा डिउटी गर्छन् ।

स्टारफोर्सले विमानस्थल कार्यालयमा क्लिनरको समेत काम गर्न भनी २ जना खटाएको छ । विमानस्थल भन्सारका प्रवक्ता अम्विकाप्रसाद खनालका अनुसार सार्वजनिक खरिद ऐन, नियमावलीलाई नै टेकेर निजी सेक्युरिटी कम्पनीलाई छनोट गरिएको हो । उनले कहिलेबाट निजी सेक्युरिटी कम्पनीले विमानस्थलको अराइभलमा प्रवेश पायो ? भन्नेबारे बुझ्न पुराना सबै फाइल पल्टाउनु पर्ने बताए । प्रवक्ता खनालले भने, ‘स्टारफोर्स ०७७–०७८ देखि हो । ६–६ महिनामा रिन्यु गर्ने सिस्टम भएपनि अहिलेसम्म उसैले काम गरिरहेको छ । तर, यो व्यवस्था कहिले र कसरी भयो भन्नेबारे मैले पनि थप बुझ्नु पर्ने हुन्छ ।’

बबरमहलस्थित स्टारफोर्स सेक्युरिटीको अफिस (च्यातिएको होर्डिङबोर्ड)

भन्सार कार्यालयको गेटमा निजी सेक्युरिटी राख्ने कुरालाई नकार्न नसकिए पनि सार्वजनिक खरिद ऐन र भन्सार ऐनलाई बर्को बनाएर सेटिङ मै विमानस्थलभित्र निजी सेक्युरिटी कम्पनीलाई सुरक्षा जाँचको पहुँच दिएको बताइन्छ । टीआईएको डिपार्चर अर्थात् प्रस्थानतर्फ तह–तहमा निभिन्न सुरक्षा निकायका प्रतिनिधिहरुले जाँच गर्छन् । तर, आफ्नो देशमा के भित्रिदैछ ? भन्ने ठाउँमा भने सुरक्षा जाँचको हविगत डामाडोल छ । त्यसैको फाइदा उठाउँदै तस्कर तथा तेस्रो मुलुकका व्यापारीहरुले सजिलै अवैध वस्तुहरु ओसारिरहेका छन् । मानौँ, त्यसमा हातहतियार पनि हुनसक्छ !

क–कसलाई थाहा छ ?
विमानस्थलमा निजी सेक्युरिटी कम्पनी घुसेको कुरा सबैलाई थाहा छ । तर, जाँचको अवस्था निम्छरो रहेको कुरामा कसैलाई मतलब छैन । केही जानकारहरु शंका गर्छन्, ‘यो जानाजान् यस्तो गरिएको हो । माथिल्लो तहको सेटिङ मै यस्तो गरिएको हुनुपर्छ ।’

भन्सार विभाग, अर्थमन्त्रालय यो विषयमा बोल्न अन्कनाइरहेका छन् । उनीहरुलाई सबै थाहा छ । अर्थमन्त्रालयका एक जना अधिकारीले यो कुरा पनि मन्त्रालयमा सोध्ने हो ? भन्दै कड्किए । बजेट अर्थले दिए पनि यो काम भन्सार कार्यालय आफैँले गर्न सक्ने भएका कारण सामान्य मसिना कुरा पनि मन्त्रालयमा नसोध्न ति अधिकारीले आग्रह गरे । अवैध मालवस्तु तस्करीको मुख्य ट्रान्जिट बनिरहेको र राष्ट्रिय सुरक्षामा समेत खतरा रहेको विषय ति अधिकारीका लागि सामान्य ठहरियो । तर, कसैसँग त अनुमति लिनु पर्ने होला नि ?

जवाफमा भन्सार विभाग त्रिपुरेश्वरका सूचना आधिकारी पुण्यविक्रम खड्काले भने, ‘भन्सार कार्यालयमा सेक्युरिटी राख्ने विषयमा हामीलाई सोधिरहनु पर्दैन । तर, विमानस्थलभित्रै राख्ने सन्दर्भमा भने हामीलाई यस्तो ठाउँमा यस्तो खाले समस्या भयो । र, यस्तो खालको जनशक्ति राख्नु पर्ने भयो भनेर विभागसँग अनुमति लिनु पर्छ ।’ स्टारफोर्सलाई विमानस्थलभित्र छिराउने सन्दर्भमा अनुमति लिए नलिएको बारे भने आफुलाई जानकारी नभएको उनले बताए । विभानस्थल भन्सारका प्रमुख डा. टोकराज पाण्डेले भने यस विषयमा आफुलाई केही जानकारी नभएको बताएका छन् ।

राष्ट्रिय सुरक्षामा खतराको घण्टी !
त्रिभुवन विमानस्थल मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो । यद्यपि, भैरहवा र पोखरामा समेत हाल अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनमा आएका छन् । त्रिभुवन विमानस्थलबाट कुनै मुलुक जाने यात्रु र सरसामानको निकै जाँच पड्ताल हुन्छ । तर, विदेशबाट आउने मान्छे तथा सरसामान जाँच भद्रगोल छ ।

जसले कुनै पनि बेला राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्छ । जसको विशेष अनुसन्धान गर्न भन्दै अहिले प्रधानमन्त्री कार्यालयले भित्ररुपमा राष्ट्रिय सुरक्षा सल्लाहकारको नेतृत्वमा एउटा टिम खडा गरेको छ ।

क्विन्टल सुन जफत गरे कै भोलिपल्ट गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलभित्रका विभिन्न ठाउँ अवलोकन गरेका थिए । अराइभलको सुरक्षा व्यवस्था र जाँचको अवस्थाबारे जानकारी लिएपछि उनले तत्काल क्रस चेक हुने गरेर सुरक्षा निकाय, अध्यागमनसहितका विभिन्न निकायका प्रतिनिधि बस्ने गरीको चेक जाँचको व्यवस्था हुनुपर्ने कुरा क्याविनेटमा उठाए । तर, अर्थमन्त्रीले डा. रामशरण महतले त्यसलाई सोझै इन्कार गरे । र, उनले यो अन्तर्राष्ट्रिय अभ्यास भएको र भन्सार ऐनले समेत तजविजी अधिकार भन्सार कार्यालय स्वयंलाई दिएका कारण अराइभल र कार्गो जाँचमा अन्य सुरक्षा संयन्त्रको काम नभएको भनेका छन् ।

यहि हो, भन्सार ऐनको एउटा छिद्र

यो विषयमा अर्थमन्त्री जंगिनुको पछाडि कारण रहेको बताउँदै एक जना जानकारले भने, ‘जसरी सुन तस्करीमा संलग्न भनिएका दावा छिरिङले सञ्चालन गरेको सुन खानीका एक जना व्यपारिक साझेदार पूर्व अर्थमन्त्री वर्षमान पुनका कान्छा भाई समेत रहेको रहस्य खुल्यो । तस्करको पहुँच उच्च तहमा स्थापित गर्ने काममा सरकार कै क्याविनेट सदस्य संलग्न हुनसक्ने कुरा यो प्रकरणले पनि पुष्टि हुन्छ ।’

‘‘सुरक्षा संयन्त्र र संरचनालाई आधुनिक प्रविधि र उपकरणले सुसज्जित गरी सुदृढ तथा सक्षम तुल्याउँदै यस क्षेत्रमा कार्यरत सबैको सक्रिय सहभागिता र योगदानमा अभिवृद्धि गरी सुरक्षा क्षेत्रको प्रभावकारिता बढाउन, विश्वमा भइरहेको प्रविधि र सञ्चारको तीब्र विकासको उपयोग गरी राष्ट्रिय सुरक्षा क्षमता बढाउन, सम्भावित सुरक्षा खतरालाई रोक्न र पराजित गर्न तथा एकरुपता, समन्वय र योजनाबद्ध रुपमा राज्यको सुरक्षा प्रणालीलाई सञ्चालन गर्न र बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरण, भू–राजनीतिक अवस्था, सुरक्षा चुनौती तथा सम्भावनालाई सम्बोधन गरी राष्ट्रिय हितको संरक्षण संवद्र्धन एवं प्रवद्र्धन गर्दै राष्ट्रिय उद्देश्य र लक्ष्य हासिल गर्न’’का निम्ति राष्ट्रिय सुरक्षा नीति २०७३ जारी गरियो ।

७ वर्षको अथक प्रयासले जारी भएको राष्ट्रिय सुरक्षा नीति सिंहदरबारभित्र कुन दराजमा थन्किएको छ, अथवा कुन पोको वा धोक्राको धूलो खाइरहेको छ, अत्तोपत्तो छैन । मुलुको राष्ट्रिय सुरक्षामा खतराको घण्टी बजिरहेको छ ।

5 thoughts on “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*