रसुवा भन्सारमा जाँचकी विष्णु गिरी, बासुदेव पोखरेल र दीपेन्द्र भण्डारीको रजाई
काठमाडौं । सरकार गम्भिर आर्थिक संकटमा परिरहेको छ । राजश्व संकलन तीव्र बृद्धि गर्नुपर्ने दवावमा अर्थमन्त्री डा. प्रकाशशरण महत रहेका छन् । तर, अर्थमन्त्रीकै गृहजिल्ला नजिकै पर्ने रसुवाको टिमुरे भन्सारका जाँचकीहरुले सेटिङ गरेर राजश्व मारेर खल्ती भर्ने अनि सामानको मूल्याङ्कनमा पक्षपात गर्ने गरेका छन् । भन्सार कार्यालय टिमुरेका जाँचकीहरु विष्णु गिरी, बासुदेव प्रसाद पोखरेल र दीपेन्द्र भण्डारीले चीनतर्फबाट आयात भएका सामानहरु चेक जाँचको बाहनामा स्याम्पल बढी निकाल्ने, गुणस्तर फरक फरक परेको भन्दै जरिवनाको त्रास देखाएर रकम माग गर्ने गरेका छन् । बीमापोष्ट एक व्यवसायीले गरेको गुनासो अनुसार जाँचकी र उपल्लो तहका दुई हाकिमहरु बटुककृष्ण अधिकारी र रविन्द्र प्याकुरेल समेतको मिलेमतोमा दैनिक रुपमा भन्सार यार्डमै व्यापारीसँग मोलमोलाई गर्ने गरेको गुनासो छ । साथै उनीहरुले सेटिङ नमिलेका व्यापारीहरुलाई अनावश्यक दुःख दिएर हैरानी पार्दै आएको गुनासो छ । व्यापारीहरुले आयात गरेको एउटै प्रकृति र मूल्यका सामानहरुलाई समेत विभिन्न प्रकारको भन्दै हुँदै नभएको तर्क अघि सारेर जरिवना तिराउने चेतावनी दिँदै रकम असुली धन्दा चलाउँदै आएका छन् ।
सो सम्बन्धमा भन्सार कार्याल टिमुरेका प्रमुख रामप्रसाद पाठकसँग गुनासो पोख्दा समेत वास्ता नगरेको पीडितहरुको गुनासो छ । हक्की र खरो स्वभावका रामप्रसाद पाठकले छोटो अवधीमा रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा बढि राजश्व उठाउन सफल भएका छन् । उनी आफै व्यापारीसँग कुरा गर्दैनन् । तर, मातहतका कर्मचारी र जाँचकीहरुले गरेको बदमासी र सेटिङ भत्काउन नसकेको गुनासो छ । टिमुरे भन्सार कार्यालयका जाँचकीहरुको सेटिङबारे प्रमुख पाठकलाई सूचना भएर पनि मौन बस्दै आएका हुन वा थाहा नै नपाएका हुन् भन्ने बुझ्न सकिएको छैन ।
भन्सार जाँचकीहरुले सिन्धुपाल्चोकका व्यापारीसँगको सेटिङमा टिमुरे भन्सार कार्यालयमा भइरहेको गतिविधिबारे अर्थमन्त्री डा. प्रकाशशरणम महतलाई जानकारी नभएको हो वा थाहा पाएर पनि मौन बसेका हुन् यसको तथ्य खुल्न बाँकी छ । टिमुरे भन्सारका कर्मचारी रविन्द्र प्याकुरेलले भने आफूलाई अर्थमन्त्रीको विश्वास पात्र भएको भन्दै आफै भन्सार प्रमुख भए सरह व्यापारीसँग डिल गर्ने गरेका छन् । उता, अर्का कर्मचारी बटुक अधिकारी भने जागिर जीवनको अन्तिम समयमा पुगिसकेको र अब छ महिना मात्रै बाँकी रहेकोले कमाउ धन्दा चलाएको भन्सारभित्रै चर्चा छ ।
कोभिडपछि बन्द रहेको र केही महिना पहिले खुलेको रसुवा भन्सार कार्यालयबाट अहिले दैनिक ५० वटासम्म गाडी छुट्दै आएका छन् । भन्सार जाँचकीहरुले विभिन्न बाहनामा दैनिक रुपमा लाखौं रुपैयाँ व्यवसायीहरुबाट असुली धन्दा चलाउन थालेपछि दशैंका लागि आयात गरेका व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।