ज्योति लाइफ इन्स्योरेन्स कम्पनी खारेजी प्रक्रियामा, बीमा पोलिसी के हुन्छ ?
काठमाडौं । साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको दर्ता सम्बन्धी विवरण खारेजीमा गएको छ । ज्योति लाइफलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले एक्वाएर गरेपछि ज्योति लाइफ खारेजी प्रक्रियामा गएको हो ।
ज्योति लाइफको नाममा रहेको बीमा पोलिसीहरु, बोनसदर, सम्पूर्ण ऋण धन समेत सूर्या लाइफले सकार्ने गरी एक्वाएर गरिएको थियो । गत वर्ष मर्जर प्रक्रियामा गएका दुई कम्पनी २०७९ पुस ७ गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।
एकीकृत कारोबार शुरु गरेसँगै सूर्या लाइफको नाम परिवर्तन गरी सूर्यज्योति लाइफ बनाउने र ज्योति लाइफलाई खारेजीमा लैजाने तत्कालिन मर्जर कमिटीले निर्णय गरेको थियो । सो निर्णय अनुसार ज्योति लाइफको अस्तित्व समाप्त भएको हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी खारेजीमा गएपनि सो कम्पनीको बीमा पोलिसी लिएका बीमितहरुलाई अब सूर्यज्योति लाइफले भुक्तानी दिनेछ । सम्पूर्ण सम्पत्ति दायित्व सकार्ने गरी ज्योति लाइफलाई एक्वाएर गरिएकोले ज्योति लाइफको बीमितहरुले ज्योति लाइफले निर्धारण गरेकै बोनसदरका आधारमा बोनस समेत पाउने गरी सूर्यज्योति लाइफबाट भुक्तानी पाउनेछन् ।
ज्योति लाइफ २०७४ साल आश्विन ८ गते विधिवत रुपमा स्थापना भएको थियो । सो कम्पनीका संस्थापक सिईओ प्रकाशविक्रम खत्री । गोल्छा ग्रुपसहितको सो कम्पनीलाई बीमा प्राधिकरणले अघि सारेको मर्जर अभियानमा सूर्या लाइफमा एक्वाएर गरिएको हो । ज्योति लाइफ भन्दा सूर्या लाइफ पुरानो कम्पनी हो ।