स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने तयारी, घोटाला र भ्रष्टाचारको अभियोगमा ७२ घण्टे स्पष्टीकरण

८ आश्विन २०८०, सोमबार १५:५६

काठमाडौं । देशभरका करिब ६० लाख भन्दा बढि जनताको स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्न सरकारले तयारी गरेको छ ।
जनताले प्रभावकारी स्वास्थ्य बीमा पाउन नसकेको, बीमा बापतको रकम वितरण गर्दा समानुपातिक ढंगबाट नगरिएको लगायतका कारण देखाउँदै सरकारले बर्खास्त गर्न लागेको हो । एमालेको कोटाबाट अनुभव र शिप भन्दा कमाउने उद्देश्य लिएर आएका बसौला अन्ततः बर्खास्तमा पर्न लागेका हुन् ।

स्वास्थ्य मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको मन्त्रालयका उच्च अधिकारीले जनाएका छन् । कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोपमा स्वास्थ्य मन्त्रालयले डा. बसौलालाई हटाउन लागेको हो ।

डा. बसौलालाई बीमा बापतको रकम भुक्तानी गर्दा अस्पतालसँग कमिशन लिने गरेको आरोप यसअघि नै लागेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ‘नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार संरक्षण गर्न स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकोले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने ?’ भन्ने स्पष्टिकरण सोधिएको छ । उनले सो पत्रको चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् । मन्त्रालयले नहटाउनु पर्ने कुनै कारण भए सोही ऐनको दफा २५ को उपदफा (३) बमोजिम तीन दिन भित्र सफाइ पेस गर्न डा बसौलालाई निर्देशन दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य बीमामा आवद्ध हुने बीमितको उपचार वापतको रकम समयमै समानुपातिक रुपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनु पर्नेमा उनले त्यसो गरी लेनदेनमा सेटिङ मिलाएर भुक्तानी गरेको देखिएको जनाएको छ । डा. बसौलाले आफूलाई कमिशन आउने केही सीमित अस्पताल र कलेजहरुलाई मात्र दोहो¥याएर दावी भुक्तानी दिएको तथ्यको आधारमा मन्त्रालयले कारवाही गर्न लागेको हो । केही अस्पतालहरुको वर्षौंदेखिको सोधभर्ना भुक्तानी नगरेर उपचार सेवा नै अबरुद्ध हुने अवस्था सिर्जना गरेको र केहीलाई पटक पटक भुक्तानी दिएर सेटिङ हानेको देखिएको छ । जनताको गुनासो आए पनि सम्बोधन नगरेको, देशभरि नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ११ वटा जिल्लामा अझै सञ्चालन नगरेको, बोर्डका नायव सुब्बा प्रकाशमान केसीले बरबुझारथ नगरेको, बीमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गराई श्रेस्ता ठिक दुरुस्त राख्नुपर्नेमा पदीय जिम्मेवारी बहन नगर्दा समेत कार्यकारी निर्देशक गैरजिम्मेवार भएको मन्त्रालयको आरोपमा बर्खास्त गर्न लागिएको हो ।

त्यस्तै, बोर्डको स्वीकृत दरबन्दी भित्रका पूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा उपलब्ध गराउनुपर्नेमा त्यो नगरेको, बोर्डको अनुरोधमा मन्त्रालयबाट कामकाजमा गएका कर्मचारीलाई कानुन बमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयका जिम्मेवार अधिकारीको निर्णयको अवज्ञा गरेको आरोप स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलामाथि लागेको हो ।

त्यसो त डा. बसौला आफै पनि इमान्दार भने होइनन् । सरुवातमै तत्कालिन नेकपाको सरकारलाई तीन करोड रुपैयाँ बुझाएर कार्यकारी निर्देशक बन्न आएका उनी उक्त रकम असुल उपर गर्न विभिन्न फण्डा अपनाएर अस्पतालहरुमा स्वास्थ्य बीमाको रकम रोक्दै आएका थिए । अस्पतालको पैसा रोकेर बार्गेनिङ गर्ने गरेको आरोप उतिबेलादेखि नै लाग्दै आएको थियो । बोर्डका कतिपय कर्मचारीहरु समेतले अस्पतालहरुबाट रकम उठाउने गरेको गुनासो आइरहे पनि बसौलाले संरक्षण गर्दै आएका थिए ।

बर्खास्त गर्न स्वास्थ्य मन्त्रालयको पत्रको बारेमा जिज्ञाशा राख्न खोज्दा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला सम्पर्कमा आएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*