इनसाइड ट्रेडिङ गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने
शेयर बजारमा भित्री कारोबार इनसाइड ट्रेडिङ गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।
कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक तथा प्रवद्र्धक न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायरको तयारी गरेको हो ।
न्यौपानेलाई मुद्दा दायर गर्नुपर्ने भनी तयार पारेको अनुसन्धान प्रतिवेदन रायका लागि विशेष सरकारी वकिल कार्यालयमा पेश भएको थियो’, विभाग स्रोतले भन्यो, ‘मुद्दा चलाउनुपर्ने राय लेखी निर्णयसहितको प्रतिवेदन विभागमा पेश भइसकेको छ ।’
विभागसम्वद्ध स्रोतका अनुसार, केही दिनमै विशेष अदालतमा मुद्दा दायर गर्नेगरी अभियोगपत्रको तयारी भइसकेको छ । ‘न्यौपानेले भित्री कारोबार गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारीमा छौं, त्यही कारोबार गरेका कारण आर्जित रकम गैरकानुनी हो र त्यो जफत हुनुपर्छ भन्ने हाम्रो माग दाबी रहन्छ’, विभागसम्वद्ध स्रोतले भन्यो ।
२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए ।
उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।
त्यतिबेला उनले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।