नेप्सेमा सूचीकृत २४ कम्पनीलाई कारवाही गर्दै धितोपत्र बोर्ड, कुन-कुन कारवाहीमा पर्दैछन् ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न २४ कम्पनीलाई कारवाही गर्ने भएको छ ।नेप्सेमा सूचीकृत २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९÷०८० को चौथो त्रैमासिक वित्तीय विवरण समयमा नै पेस नगरेका कम्पनीहरुलाई कारवाही गर्ने भएको छ ।
तीनवटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ११ वटा जलविद्युत् कम्पनी, ६ वटा माइक्रोफाइनान्स, अन्य एउटा र ट्रेडिङ कम्पनी एउटालाई पत्र काट्न लागेको बोर्ड स्रोतले जनाएको छ ।
बोर्डले कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक तथा बेस्ट फाइनान्स र पोखरा फाइनान्सलाई पत्र काट्ने तयारी गरेको छ ।
बोर्डले पत्र काट्न लागेका ११ वटा जलविद्युत कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, कुथली बुखरी स्मल हाइड्रोपावर, मोदी इनर्जी, माउन्टेन हाइड्रो, पञ्चकन्या माई, रावा इनर्जी, शिवश्री हाइड्रो र सुपर माई हाइड्रोपावर छन् ।
यस्तै ६ वटा माइक्रोफाइनान्स कम्पनीमा आरम्भ चौतारी लघुवित्त, बीपीडब्लू लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, समाज लघुवित्त र सिर्जनशील लघुवित्त वित्तीय संस्था छन् । यस्तै अन्य कम्पनीमा नेपाल रि–इन्स्योरेन्स रहेको छ भने ट्रेडिङमा विशाल बजार कम्पनी रहेको छ ।
यी कम्पनीलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली– २०७३ को नियम २६ अनुसार सूचना किन उपलब्ध नगराएको भन्दै पत्र काटिने भएको छ । नियम २६ मा वित्तीय विवरण तथा सूचना उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्था छ ।
नियम २६ को उपनियम १ मा ऐन तथा यस नियमावलीबमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको अनुसूची– १४ मा उल्लिखित विवरण त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्नुपर्नेछ र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ ।