सलिकोबाट बीमा दावी नपाएकाहरु खरानी बोकेर सडकमा भौतारिँदै, दावी भुक्तानी नदिने बीमा कम्पनीको परिचय बनाउँदै सलिको
काठमाडौं । २०७९ जेठ २ गते बुटवलस्थित खत्री प्रकाशन सामग्रीमा आगोलागी भयो । प्रकाशन भई तयारी अवस्थाका बस्तु र मौज्दात रहेका कच्चा पदार्थहरु पनि जलेर खरानी भए ।
सो कम्पनीका सञ्चालक गुप्त बहादुर खत्री खरानी बोकेर बीमा दावी भुक्तानीको लागि हिडेको डेढ वर्ष भइसकेको छ । तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीमा एक करोड ५० लाख रुपैयाँसम्मको जोखिमको बीमा मिति २०७८ असोज ७ गते बीमा गरिएको थियो ।
बीमा अवधीभित्रै आगोलागी भएर नष्ट भई खरानी हुँदा पनि हालको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) ले दावी नलाग्ने पत्र दिएर निराश भएपछि न्यायको खोजीमा भौतारिरहेका छन् ।
डेढ करोडको जोखिमको बीमा गराएका उनको उद्योगमा पुस्तकहरु प्रकाशन गर्न ल्याएर राखिएका सयौं रिम कागज जलेका थिए भने प्रकाशन भई तयारी भइसकेको पुस्तकहरु समेत जलेर खरानी भए ।
मध्यरातमा विद्युत सर्ट भई आगोलागी भएपछि ७९ लाख ६९ हजार १०२ रुपैयाँ बराबरका सामानहरु जेलर नष्ट भएको बुटवल प्रहरीको प्रतिवेदन र पीडितले बीमा कम्पनीमा बुझाएको प्रतिवेदनमा समेत देखिन्छ ।
तर, सलिको कम्पनीले तोकेको सर्भेयर पिभोट रिस्क प्रा.लि. ले बीमितलाई दावी नलाग्ने भन्दै आगोलागी नभएको आशयको पत्र दिएको छ । हाल सो कम्पनीका सर्भेयर उदयराज अधिकारी विदेश भ्रमणमा रहेकोले उनीसँग सम्पर्क हुन सकेन ।
गत जेठ २ मा बुटवल ६, ज्योतिपथमा रहेको खत्री प्रकाशन सामग्रीको उद्योग पूर्ण रुपमा खरानी भएको थियो । सो उद्योग हालसम्म पुर्बवत अवस्थामा फर्कन सकेको छैन ।
बीमा कम्पनीले अनौपचारिक रुपमा एक कर्मचारीले जनाए अनुसार दावी नलाग्ने भएकोले रकम नदिएको बताएको छ । पीडित गुप्त बहादुर खत्रीले पनि बीमा कम्पनीले झुठा विवरण र तर्क सारेर दावी नलाग्ने भन्दै धम्क्याएको गुनासो गरेका छन् ।
औपचारिक जानकारी लिन कम्पनीका सिईओ चंखु क्षेत्रीसँग सम्पर्क गर्दा कुनै प्रतिक्रिया जनाएनन् । कम्पनीका सूचना अधिकारीसँग पटक बीमा कम्पनीले बीमा दावी भुक्तानी नदिए बीमा प्राधिकरणमा गएर न्याय पाउन सकिने जानकारी गराए।
उनले भने, ‘बीमा कम्पनीले कुनै कारण देखेमा, कम्प्लाइन्स मिट नगरेमा दावी भुक्तानी नदिने भन्न सक्छ । पीडितले न्याय पाइन भन्ने लागेमा न्याय खोज्न सक्नेछन् ।’
सलिको इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरसँग मिलेमतो गर्ने, घुस खुवाउने र आगोलागी, दुर्घटना, प्राकृतिक प्रकोप जस्ताबाट हुने जोखिमबाट पुगेको क्षतिको मूल्याङ्कन गर्दा शर्त पूरा नभएको, बिल भर्पाई नभएको, भन्दै बीमितलाई बीमा दावी भुक्तानी नदिने प्रवृत्ति चरम रुपमा हुर्किएको छ । सलिकोमा दावी भुक्तानी समस्याका प्रतिनिधिमूलक घटनाहरु हुन यी माथिका समस्या ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको झै बीमा गर्ने अनि दावी भुक्तानी दिने बेलामा विभिन्न बाहानाबाजी गरेर नदिने प्रवृत्ति सलिकोले समेत सुरु गरेको छ । यसअघि २६ नोभेम्वर २०१८ मा काठमाडौंको बिशालनगरमा भिषण आगोलागी भयो जसका कारण फ्लाई दुबईसहितका जहाजहरु डाईभर्ट हुन बाध्य भए ।
उक्त आगोलागी काण्डका पीडित खरानी बोकेर सडकमा मात्रै भौतारिएनन्, बीमा प्राधिकरण, उच्च अदालत पाटन र सर्वोच्च सम्मको मुद्दा सामना गर्नुपरेपछि बल्लतल्ल चार वर्षपछि सन् २०२२ मा भुक्तानी पाए ।
त्यसमा सगरमाथा इन्स्योरेन्स त आम जनताको बीचमा बद्नाम भइसकेको कम्पनी हो । अदालतको आदेशपछि पनि दावी भुक्तानी नदिएर दोस्रो पटक समय तोकेरै दावी भुक्तानी गराउन तत्कालिन बीमा समितिको नाममा परमादेश नै जारी गर्नु परेको थियो ।
त्यति गर्दा आगोलागीमा परेर खरानी भएका व्यक्तिले रकम पाउन निकै मोलमोलाई गर्नुपरेको थियो । गत वर्ष सगरमाथा इन्स्योरेन्स कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जरमा गयो अनि बद्नाम बनेको सगरमाथा इन्स्योरेन्सको अस्तित्व हटाइयो र सलिको रुपमा नयाँ ब्राण्डिङ गरियो ।
तर, उनी प्रशासन, उही नेतृत्व र उही नियत भएको सगरमाथाको लेगेसी बोकेको सलिको पनि दावी भुक्तानी नदिने पुरानै नियत दोहोर्याउन थालेको छ ।
Chor haru le chalayako sastha bhayapachi yesti hunxa.