दर्जन बीमा कम्पनी र जलविद्युत कम्पनीहरुले नेप्सेमा वित्तीय विवरण बुझाउन सकेनन्, करोडौं रुपैयाँ जरिबाना तिर्नुपर्ने
काठमाडौं । नेप्सेमा सूचिकृत भएका दर्जनभन्दा बढि बीमा कम्पनी र थुप्रै जल विद्युत कम्पनीहरुले नियम अनुसार बुझाउनुपर्ने वित्तीय विवरण बुझाउन सकेका छैनन् ।
नेप्सेका अनुसार मर्जर प्रक्रियामा सहभागी भएका र अन्य केही जीवन बीमा कम्पनीहरुले हालसम्म पनि आव २०७७।०७८ र ०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन बुझाउन सकेका छैनन् । त्यस्तै, एक दर्जनभन्दा बढि जल विद्युत कम्पनीहरुले पनि वित्तीय विवरण नबुझाएर लगानीकर्ताहरुलाई गुमराहमा राखेका छन् ।
नेप्सेमा सूचिकृत कम्पनीहरुको पारदर्शिता र निष्पक्षताको पक्षमा रहेको नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले यसरी समयमा वित्तीय विवरण तयार नगर्ने, लगानीकर्तालाई गुमराहमा राख्ने गरी वित्तीय विवरण नबुझाउने सूचिकृत कम्पनीहरुमाथि कडा कारवाही गर्ने विषयमा छलफल भएको छ । नेप्से स्रोतका अनुसार सूचिकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको छ महिनाभित्रैमा नेप्सेमा वित्तीय विवरण बुझाउनुपर्नेमा थुप्रै कम्पनीहरुले समयमा वित्तीय विवरण नबुझाउने प्रवृत्ति बढेपछि कारवाही गर्ने विषयमा छलफल सुरु भएको हो ।
दुई आर्थिक वर्षको वित्तीय विवरण बक्यौता हुँदा पनि नेप्सेमा खुरुखुरु कारोबार भइरहँदा केही सीमित व्यक्तिलाई कम्पनीभित्रको वित्तीय अवस्था थाहा हुने र आम लगानीकर्तालाई सूचना नहुने हुँदा शेयर मूल्य र कारोबारमा चलखेल हुनसक्ने सम्भावना बढेको छ । यसलाई रोक्न नेप्सेले थप कडाई गर्ने तयारी गरिरहेको छ । यस अघि पनि पटक पटक समयमा वित्तीय विवरण बुझाउन आग्रह गर्दै आएको भएपनि अटेर गर्दै आएका थिए ।
नेप्सेले वित्तीय विवरण नबुझाउने सूचिकृत कम्पनीहरुलाई कारवाही गर्दा करिब एक दर्जन बीमा कम्पनीहरु कारवाहीमा पर्नेछन् । नेप्सेको कारवाहीमा पर्ने बीमा कम्पनीहरुको सूचिमा सूर्यज्योति लाइफसहितका बीमा कम्पनीहरु पर्नेछन् । सूर्यज्योति लाइफले गत वर्ष मर्जरमा जाँदा कर चुक्ता समेत नगरी झुक्याएर कर छली गरेको थियो । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीहरुले लामो समयदेखि वित्तीय विवरण बुझाएको छैन ।