मधेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा
मधेश प्रदेशमा बीमा संस्कृति कमजोर भएको र भारतीय बीमा कम्पनीहरुको दबदबा रहेकाले यसतर्फ नेपाली बीमा कम्पनीहरु सचेत हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय वीरगन्जले शुक्रबार वीरगन्जमा आयोजना गरेको आर्थिक पत्रकारसँग नेपाल बिमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वीरगन्जबाट मासिक १ करोड रुपैयाँभन्दा बढी प्रिमियम एउटै भारतीय बीमा कम्पनीले लगिरहेको दाबी गरे ।‘यस्तो अवस्थामा एकातिर नेपाली बीमा कम्पनीहरु आक्रमकरुपमा बजारमा सक्रिय हुनु पर्छ,’ उनले भने, ‘अर्कोतिर बीमाको माध्यमबाट भारततर्फ भई रहेको पुँजी पलायन पनि रोक्नु पर्छ ।’
उनले मधेशको ठूलो जनसंख्याले अझै पनि बीमाको महत्व नबुझेको अवस्था रहेको बताए । ‘गाउँघरका किसान अझै पनि बिमाबारे अनभिज्ञ नै छन्,’ उनले भने, ‘कृषि, पशु र बाली बीमाजस्ता किसानको हितकारी बीमाबारे पनि उनीहरुले अझै सुनेकै छैनन् ।’
पत्रकार महेशचन्द्र गौतमले पछिल्लो समय जीवनभन्दा निर्जीवन बीमाले धेरै सेवाग्राही लाभान्वित हुने अवस्था रहे पनि यो बीमाबारे शिक्षित वर्गसमेत अनभिज्ञ रहेको बताए । उनले निर्जिवन बीमालाई पनि जिवन बीमा सरह जनमानसमा प्रभावकारी रुपमा बिस्तार गर्न सुझाए ।आर्थिक पत्रकार समाज पर्साका प्रतिनिधि पत्रकार निरज पिठाकोटेले जीवन बिमालाई मृत्यु र जीवनसँग मात्र जोडेर हेर्ने परिपाटीको अन्त्य हुन जरुरी रहेको बताए ।
बीमा प्राधिकरण मधेश प्रदेश कार्यालकी प्रमुख कुसुम शर्माले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बिमा साक्षरताको अवस्था कमजोर रहेको बताइन् ।
कार्यक्रममा प्राधिकरण प्रादेशिक कार्यालयका सहायक निर्देशक अनिश तिमल्सेनाले हाल मधेश प्रदेशमा जीवन बिमाका १ सय २३ शाखा, ७१ उपशाखा रहेको र तीनमा ४ सय ६८ कर्मचारीले रोजगारी पाएको बताए । त्यसैगरी, प्रदेशमा निर्जीवन बिमाका ९४ शाखा, २३ उपशाखा र तीनमा ४ सय ३ जनाले रोजगारी पाएको बताए । मधेश प्रदेश भरीमा आव २०७९र०८० मा २ लाख १५ हजार २ सय २६ निर्जीवन बिमा लेख जारी हुँदा २ अर्ब ४७ करोड १० लाख ७९ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको बताए । सोही आवमा ५ लाख ७४ हजार ४ सय १२ वटा जिवन बिमा लेख जारी हुँदा १३ अर्ब १५ करोड ९६ लाख ९८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको उनले बताए ।
मधेश प्रदेश सरकारले यस वर्षको बजेटमा सरल र सहजरुपमा उन्नत जातको कृषि तथा पशुपन्छी बिमामा २० करोड बजेट विनियोजन, निजामती कर्मचारीका लागि १० लाख रुपैयाँको दुर्घटना बिमा र प्रत्येक नागरिकका लागि २ लाख रुपैयाँ बराबरको विपद् जोखिम बिमाको व्यवस्था गर्नु स्वागतयोग्य रहेको उनले बताए ।