अब कम्पनीले शेयर निष्काशन गर्न बोर्ड धाउन नपर्ने, विद्युतिय माध्यमबाटै निवेदन पेश गर्न सकिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (सातौै संशोधन) नियमावली, २०८० मा प्राथमिक शेयर निष्काशनको लागि आवश्यक कागजात विद्युतिय माध्यमबाट पेश गर्न सकिने व्यवस्था गरेको छ ।
बोर्डले उक्त नियमावलीको नियम ४७ मा ४७ (क) थपेर यस्तो व्यवस्था लागु गरेको हो । सो संशोधित नियमावलीमा “विद्युतीय माध्यमबाट पेश गर्न सक्ने सङ्गठित संस्थाले बोर्डमा धितोपत्र निष्कासन सम्बन्धी कागजात तथा विवरण बोर्डले तोकेको विद्युतीय माध्यमबाट समेत पेस गर्न सक्ने छ” भनि व्यवस्था गरिएको छ ।
यसअघिसम्म कम्पनीले शेयर निष्काशन गर्नुअघि कागजी रुपमा लिखित निवेदन लिएर बोर्ड जानुपर्ने बाध्यता रहेको थियो । अबभने यो व्यवस्थाको अन्त्य हुने भएको छ । बोर्डले तोकेको विद्युतिय माध्यमको प्रयोग गरेर कार्यालयबाटै निवेदन पेश गर्न सक्नेछन् ।