गैर आवासीय नेपालीको लागि आईपीओ निष्काशन गर्ने बाटो खुल्ला, डिजिटल माध्यमबाटै सेवा प्रदान गर्ने
काठमाडौं । एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन गर्ने बाटो खुल्ला भएको छ ।नेपाल सरकारले भदौ ६ गते धितोपत्र दर्ता तथा निष्काशन (सातौ संशोधन) नियमावली, २०८० स्वीकृत गरेसंगै कम्पनीलाई गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन गर्ने बाटो खुलेको हो।
समितिले एनआरएनलाई भित्रयाउन गर्नुपर्ने नीतिगत परिवर्तन, राष्ट्र बैंक, धितोपत्र बोडले गर्नुपर्ने काम तथा प्रकृयागत सुझावलाई समेटेर प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदनमा राष्ट्र बैंकले गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार गर्नको लागि अलग्गै बैंक खाता खोल्ने सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ भने गैर आवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुनेगरी छुट्टै निर्देशन जारी गर्नुपर्ने उल्लेख छ।
यस्तै धितोपत्र बोर्डले गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रकृयामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने र गैर आवासीय नेपालीले खरिद गर्न सक्ने–लगानी गर्न पाउने धितोपत्र÷क्षेत्र÷संख्या÷लगानीको सीमा रकम–अवधि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने उल्लेख छ।
राष्ट्र बैंकले गर्नुपर्ने काम
१ गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्नका लागि सहजीकरण गरिदिन संरक्षक सदस्य बैंकको व्यवस्था गर्न सकिने गरी नीतिगतरुपमा नै व्यवस्था गर्नुपर्ने।
२. गैर आवासीय नेपालीले धितोपत्रमा लगानी गर्ने प्रयोजनका लागि तोकिएको संरक्षक सदस्य बैंकमा गैर आवासीय नेपालीलेअलग्गै बैंक खाता खोल्न सक्ने व्यवस्था गरिदिने ।
३. गैर आवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुनेगरी छुट्टै निर्देशन–नियमन, कार्यविधि जारी गर्ने ।
४. गैर आवासीय नेपालीले संरक्षक सदस्य बैंकमा विदेशी मुद्रा खाता खोल्ने र रेमिटयान्स मार्फत विदेशी मुद्रा जम्मा गर्न सक्ने, सदस्य बैंकहरुले गैर आवासीय नेपालीहरुलाई उक्त विदेशी मुद्रा खातामा रहने कुल मौज्दातलाई सुरक्षणको रुपमा राखी सोको प्रचलित विनियमय दरले हुने रकमको बढीमा ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्न सक्ने र गैर आवासीय नेपालीहरुले सो नेपाली मुद्रामा लिएको कर्जा रकमबाट धितोपत्रको दोस्रो वजारमा कारोबार गर्न सक्ने, सदस्य बैंकबाट लिएको कर्जाको राफसाफ गरेपश्चात रेमिटयान्स मार्फत ल्याएको जति रकम वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात चाहेको बखतमा विप्रेषण गर्न सक्ने गरी आवश्यक व्यवस्था तोकिदिन सक्ने । यसबाट गैर आवसीय नेपालीलाई नेपाली धितोपत्र बजारमा लगानीको लागि आकर्षित गर्न सकिने र जसका माध्यमबाट विदेशी मुद्रा नेपाल भित्र्याउन तथा धितोपत्र बजार मार्फत पूँजी निर्माण तथा परिचालन गर्न सहज भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक योगदान पुग्न सक्ने देखिन्छ ।
नेपाल धितोपत्र बोर्डबाट हुनु पर्ने व्यवस्थाहरुः
१. गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रकृयामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने । यसका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावलीमा देहाय अनुसारको प्रावधान थप–शंसोधन गनुपर्ने ।
निक्षेप सदस्यहरुलेगैर आवासीय नेपालीहरुको डिम्याट खाता खोल्दा नेपाल सरकारले जारी गरेको गैर आवासीय परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान गरी खाता खोल्न तथा खाता अद्यावधिक गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।
२. गैर आवासीय नेपालीलाई धितोपत्र दलालकोमा ट्रेडिङ्ग खाता खोल्न, ग्राहक पहिचानलाई सरलीकरण गरी प्रविधि प्रयोग गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ देहाय अनुसारको प्रावधान थप गनुपर्ने ।
धितोपत्र दलालले गैर आवासीय नेपालीको कारोबार गर्नु अघि ग्राहकको ट्रेडिङ्ग खाता खोल्दा तथा ग्राहक पहिचान विवरण राख्दा गैर आवासी नेपालीको परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट गर्न सक्नेछ । साथै त्यस्तो विवरण तोकिएको समय अन्तरालमा विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सम्पूर्ण जिम्मा धितोपत्र दलालले गर्ने ।
३. धितोपत्र दलालले सेवा प्रदान गर्दा अपनाउनुपर्ने उपाय र सेवालाई सरलीकरण गर्ने देहाय अनुसारको व्यवस्था गर्नुपर्ने ।
धितोपत्रको दोस्रो बजारमा गरिने कारोबारका लागी खोलिएको बैंक खाता, डिम्याट खाता र धितोपत्र दलाल संग खोलेको खाता एक आपसमा आवद्ध हुनु पर्ने।
गैर आवासीय नेपालीले कारोबार गरेको धितोपत्रको राफसाफ तथा फछ्यौट गरी प्रचलित कर एवं शुल्क कमिशनहरु भुक्तान गरी ग्राहकको बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा गरिदिने ।
४. गैर आवासीय नेपालीले खरिद गर्न सक्ने–लगानी गर्न पाउने धितोपत्र–क्षेत्र–संख्या–लगानीको सीमा रकम–अवधि तथा रकम फिर्ता लाने प्रकृया, सूचीकृत संगठित संस्थाको बार्षिक साधारण सभामा मतदान गर्ने तथा संचालक समितिमा भाग लिने सम्बन्धी व्यवस्था, सम्पती हस्तान्तरण–अपुताली सम्बन्धी व्यवस्थाका आदि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने ।
५. गैर आवासीय नेपालीका लागि धितोपत्रको दोस्रो बजारमा परिवर्तनीय बैंक खाता खोली कारोबारका लागि सहजीकरण गर्न (विदेशी तथा स्वदेशी मुद्रामा खाता खोल्ने) धितोपत्र बोर्डको अनुरोधमा नेपाल राष्ट्र बैंकबाट इच्छुक वाणिज्य बैंकहरुलाई गैर आवासीय नेपालीको लागि नेपालको दोस्रो बजारमा कारोबारका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैंकको अनुमतिको व्यवस्था गर्नु पर्ने ।
६. संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकको तर्फबाट डिम्याट (म्झबत) खाता खोल्ने, धितोपत्र दलालकोमा ग्राहकको तर्फबाट कारोबार खाता खोलिदिने, ग्राहकको तर्फबाट विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने सम्बन्धमा धितोपत्र बोर्डलेसदस्य बैंकको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाउने । सदस्य बैंकले शुल्क लिई गैर आवासीय नेपालीसंग सम्झौता गरी यी सेवा प्रदान गर्न सक्ने।
७. संरक्षक सदस्य बैंकले गैर आवासीय नेपाली ग्राहकको कारोबारको प्रतिवेदन नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डलाई तोकिएकोसमयभित्र गराउनुपर्ने व्यवस्था मिलाउने ।
यसैगरी धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न इच्छुक गैर आवासीय नेपालीले गैर आवासीय नेपालीको परिचयपत्रका आधारमा अनुमति प्राप्त संरक्षक सदस्य बैंक मध्ये कुनै एक बैंकसँग आफै वा त्यस्तो बैंकको विदेश स्थित उपलब्ध प्रतिनिधि एजेण्ट वा त्यस्तो बैंकले गरेको विद्युतीय माध्यम मार्फत्सम्पर्क स्थापित गरी त्यस्तो बैंकमा विदेशी मुद्रा खाता खोल्नु पर्ने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ।
समितिले संरक्षक सदस्य बैंकले गैर आवासीय नेपालीको तर्फबाट डिम्याट खाता खोल्ने तथा धितोपत्र दलालकोमा ग्राहकको कारोबार खाता खोलिदिई त्यसको युजर आइडी तथा पासवर्ड ग्राहकलाई उपलब्ध गराउने व्यवस्था मिलाउने र ग्राहकले कारोबार गरेपछि विद्युतीय निर्देशन पुर्जी जारी बैंक आफैले गरिदिने र सोको जानकारी ग्राहकलाई तत्कालै गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने जनाएको छ।
यसैगरी ग्राहकले कारोबार गर्ने प्रयोजनका लागि विदेशी मुद्रा खातामा सर्वप्रथम रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्ने र ग्राहकको अनुरोधमा उक्त खातामा जम्मा भएको विदेशी मुद्रामा अंकित रकममध्ये ग्राहकले चाहेजति रकम कारोबार प्रयोजनका लागि खोलिएको नेपाली मुद्राको चल्ती खातामा प्रचलित विनिमय दरले रकमान्तर गरी जम्मा गरिदिने व्यवस्था संरक्षक सदस्य बैंकले मिलाउनुपर्ने उल्लेख छ।
त्यस्तो खातालाई ग्राहकको डिम्याट खाता तथा कारोबार खातासँग आवद्घ गराई त्यस्तो खाताबाट खरिद कारोबार गर्दा कट्टा गर्ने र बिक्री कारोबार गर्दा जम्मा गर्ने व्यवस्था बैंकले मिलाउने मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। बैंकले यो कार्यको लागि कुनै धितोपत्र दलालसंग संझौता गरी कार्य गर्न सक्नेछन्।