साउन महिनाको तथ्याङ्कले जीवन बीमा क्षेत्रमा देखायो अप्ठेरो अवस्था, कूल नयाँ व्यवसायको ५५% बीमा पोलिसी सरेण्डर

रिना खत्री
१९ भाद्र २०८०, मंगलवार १२:१४

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्र दर्दनाक अवस्थामा पुग्न लागेको तथ्याङ्कले देखाएको छ । साउन महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ बीमा व्यवसायबाट भित्राएको आधा रकम नै पोलिसी सरेण्डरबाट बाहिरिएपछि जीवन बीमा क्षेत्रको अवस्था चिन्ताजनक अवस्थामा पुगेको देखिएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा २ अर्ब २९ करोड रुपैयाँ नयाँ बीमा व्यवसाय भित्रयाएका छन् । कम्पनीले उक्त अवधीमा बीमा रकम भित्र्याउँदा एक अर्ब २८ करोड रुपैयाँ पोलिसी सरेण्डर भएको देखिएको छ । यसले बीमा कम्पनीहरुको दीगोपनामा गम्भिर असर पर्न सक्ने देखिएको छ ।

नियामक नेपाल बीमा प्राधिकरणमा दक्ष जनशक्ति नहुँदा, सही बीमा नीति बनाउन नसक्दा, देशमा उत्पन्न आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको हो । नियामक नेपाल बीमा प्राधिकरणले भने बीमा अभिकर्ताले गलत सूचना दिएर बीमा गरेको कारण यस्तो अवस्था आएको दावी गर्दै आएको छ ।

बीमा पोलिसी सरेण्डर गर्न पाउनु बीमितको अधिकार भएपनि बीमितहरुलाई घाटा र बीमा कम्पनीलाई पनि घाटा हुने बीमा पोलिसी सरेण्डर चिन्ताजनक अवस्थामा पुगेको हो कि होइन भनेर विस्तृत अध्ययन गरिनुपर्ने बीमा विज्ञ डा. रविन्द्र घिमिरेले बताउँछन् । बीमा विज्ञ रविन्द्र घिमिरेले बीमा पोलिसी सरेण्डर र प्रथम बीमा शुल्कको अनुपात घट्नु अर्को चिन्ताको विषय भएको बताए । कूल प्रथम बीमा शुल्कको १८ प्रतिशत बीमा अभिकर्ता र २५ प्रतिशत व्यवस्थापनमा खर्च गर्दा कूल ४३ प्रतिशत सुरुमा नै बाहिर गइसकेको हुन्छ । बाँकी रहेको ५७ प्रतिशत मध्ये यस वर्षको साउन महिनाको तथ्याङ्कमा करिब ५१ प्रतिशतको सरेण्डर भएको देखिएको छ ।

पोलिसी सरेण्डर गर्दा बीमितका साथै बीमा कम्पनीलाई समेत घाटा पर्ने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । तथ्यांक हेर्दा नयाँ विजनेस ल्याउने होडबाजी चल्छ तर पुरानो बीमा नविकरणमा बीमा अभिकर्ताको चासो घट्दै गएको कारण पनि यस्तो समस्या देखिएको छ । पछिल्लो समय जीवन बीमा क्षेत्रमा बीमा अभिकर्ता र नयाँ बीमा व्यवसाय दुवै घट्दै गएको छ ।

बीमा अभिकर्ताहरुलाई सुरुका बर्षहरुमा राम्रो कमीशन आउने लोभको कारण बीमितहरुलाई निगरानीमा राख्ने र बीमा योजना पुरानो हुँदै गएपछि वेवास्ता नगर्ने प्रवित्ति अझै पनि छ । बीमितहरु पूर्ण अभिकर्ताको भरमा चल्ने हुँदा स्वयम् बीमा नविकरणको लिष्टमा नपर्नु अर्को पनि कारण रहेको छ ।

नविकरणमा अभिकर्ताको प्राथमिकता कम पर्दा तत्कालको लागि कुनै समस्या नदेखिए पनि दीर्घकालीन रुपमा यसले जटिल असर गर्न सक्ने बीमा अधिकारीहरु बताँउछन् । जीवन बीमा व्यवसायमा सरेण्डर र प्रथम बीमा शुल्क आर्जनले विशेष महत्व राख्छ । प्रथम बीमा शुल्कको भन्दा पनि सरेण्डर रकम बढ्दा जीवन बीमा कोषको बृद्धिदर घट्न सक्नेछ । कारण पनि प्रथम बीमाशुल्क आर्जन र सरेण्डरबीचको अन्तरसम्बन्धका कारण बीमितले भविष्यमा पाउने बोनसदर समेत प्रभावित हुनसक्ने हुन्छ ।

हालको अवस्थामा आर्थिक मन्दीको प्रभावको कारण पनि बीमा कम्पनीहरुमा बीमालेख सरेण्डरका लागि चासोका साथ सोधपुछ गर्नेको संख्या ह्वात्तै बढेको छ । बीमा कम्पनीहरुले सकेसम्म बीमालेख सरेण्डर नगर्न सुझाउने गरेका छन् । उनीहरुले मिलेसम्म बीमालेख धितोमा राखेर कर्जा प्रवाह गर्छन् । कतिपय कम्पनीहरुले पोलिसीमा भएको फिचर अनुसार बीमाङ्क रकम घटाएर पनि पोलिसीलाई निरन्तरता दिन सुझाउने गरेका छन् । एकातिर आर्थिक अभाव अर्कोतर्फ नविकरण बीमा शुल्क भुक्तानी गर्नुपर्ने बाध्यात्मक अवस्थाले पनि कतिपय बीमित वास्तवमै समस्यामा देखिने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*