नेपालमा बिक्री वितरण भइरहेको सामसङ् ब्राण्डका मोबाईल सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण, नेपाल टेलिकमको सिममा मिल्दैन फ्रिक्वेन्सी

१३ भाद्र २०८०, बुधबार १४:४०

काठमाडौं । बहुराष्ट्रिय कम्पनी सामसङ ब्राण्डका नेपालमा बिक्री वितरण भइरहेका सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण रहेको फेला परेको छ । बीमापोष्टले गरेको अध्ययनको क्रममा भारतमा निर्मित सामसङ ब्राण्डका सेटहरु नेपाल टेलिकमको सिममा पर्याप्त टावर नटिप्ने समस्या रहेको तथ्य उजागर भएको छ ।

नेपालस्थित सामसङको आधिकारिक डिलरले बिक्री गर्दै आएको र आधिकारिक डिलरमार्फत लिएर रिटेलरहरुले बिक्री वितरण गर्दै आएको सामसङ ब्राण्डका मोबाइल सेटहरु नेपाल टेलिकमको ब्याण्ड २० अर्थात ८०० मेगाहर्जको फ्रिक्वेन्सीसँग मेल नखाने नेपाल टेलिकमले जनाएको छ । देशको सबैभन्दा ठूलो बजार हिस्सा भएको नेपाल टेलिकमले विगत चार वर्षदेखि फोरजी फ्रिक्वेन्सीमा ब्याण्ड २० अर्थात ८०० मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्दै आइरहेकोछ ।

तर, नेपालका लागि सामसङको आधिकारिक डिलर गोल्छा अर्गनाईजेशन र आइएमएएसले भारतमा निर्मित मोबाइल नेपाल भित्राउँदै आएका छन् । भारतमा बनेका सामसङ् ब्राण्डका मोबाइल फोनमा ८५० मेगाहर्जको फ्रिक्वेन्सी जडान गरिएको छ र ८०० मेगाहर्जको फ्रिक्वेन्सी जडान गरिएको छैन । भारतमा ८०० मेगाहर्जको फ्रिक्वेन्सी नचल्ने हुँदा सामसङ ब्राण्डका मोबाइल सेटमा नेपाल टेलिकमले प्रयोग गर्दै आएको ८०० मेगाहर्जको फ्रिक्वेन्सी जडान नगरिएको नेपाल दुर सञ्चार प्राधिकरणले स्वीकार गरेको छ । नेपाल दुर सञ्चार प्राधिकरणका अनुसार सामसङले भारतमा बनेको मोबाइल फोनको साटो चीनमा बनेको मोबाइल फोन सेटहरु आयात गरेमा यो समस्याको समाधान हुनेछ ।

नेपाल दुर सञ्चार प्राधिकरणले नेपाल टेलिकमले प्रयोग गर्दै आएको ब्याण्ड २० सँग मेल नखाने सेटहरु बजारमा रहेको स्वीकार गरेको छ । साथै सामसङ ब्राण्डका भारतमा बनेका सेटहरुमा नेपाल टेलिकमको फ्रिक्वेन्सी सपोर्ट नगर्न सक्ने हुँदा सचेत भएर सेट खरिद गर्न आग्रह गरेको छ ।

उता, नेपाल टेलिकमले पनि नेपालमा बिक्री वितरण भइरहेका सबै सेटहरुमा ब्याण्ड २० सपोर्ट नगर्ने समस्या रहेकोले उपभोक्ताले सचेत भएर मोबाइल सेट खरिद गर्न र ८०० मेगाहर्जको ब्याण्ड २० सपोर्ट गर्ने नगर्ने सोधर मात्रै नयाँ मोबाईल सेट खरिद गर्न आग्रह गरेको छ ।

प्राविधिक रुपमा सपोर्ट नै नगर्ने सामसङ ब्राण्डका ५० हजार भन्दा बढि सेटहरु बिक्रीका लागि बजारमा पठाईसकेको सामसङको नेपालस्थित डिलरले स्वीकार गरिसकेको छ । काठमाडौं उपत्यका र पश्चिम क्षेत्रमा बिक्री वितरण गर्दै आएको आईएमएस र नेपालको पूर्वी क्षेत्रमा सामसङको सेट बिक्री गर्दै आएको गोल्छा अर्गनाईजेशनले प्राविधिक रुपमा नेपाल टेलिकमसँग फ्रिक्वेन्सी नमिल्ने सेट आयात गरी बिक्री विरतण गरिरहेको बारेमा केही बताउन चाहेको छैन ।

नेपालमा सामसङका २१ थरीमा मोबाइल सेट बिक्री गर्दै आएको छ । त्यस्तै, तीन थरीका ट्वाब्लोईड समेत बिक्री गर्दै आएको छ । ८०० मेगाहर्जको फ्रिक्वेन्सी सपोर्ट नगरेको कारण घरभित्रै पनि टावर कम टिप्ने, आवाज नसुनिने तथा काठमाडौंभित्रै पनि फ्रिक्वेन्सी नचल्ने समस्या छ । उपभोक्ताहरुले उक्त समस्याबारे पटक पटक नेपाल दुर सञ्चार प्राधिकरणमा गुनासो गर्दा समेत खासै चासो दिइएको छैन ।

काठमाडौंको नयाँ सडकसहितका मुख्य व्यापारिक केन्द्र र उपत्यका बाहिर बिक्री वितरण भइरहेका सामसङ ब्राण्डका भारतमा निर्मित सबै सेटहरु नेपाल टेलिकमको ब्याण्ड २० सँग मेल नखाने खालका रहेका छन् । नेपाल टेलिकमको सिमकार्ड चलाउने उपभोक्ताले गुणस्तरी कल र इन्टरनेट सेवाका लागि भारतमा निर्मित अर्थात मेड इन इण्डिया लेखिएका सामसङ्का मोबाइल किन्न नहुने देखिएको छ । साथै पसलमा पुगेर मोबाइल सेट खरिद गर्दा नेटवर्क फ्रिक्वेन्सी ८०० मेगाहर्ज छ कि छैन भनेर स्पष्ट भएर मात्रै सेट खरिद गर्नुपर्ने भएको छ । अन्याथ नयाँ मोबाइल सेटमा इन्टरनेट नचल्ने र अलि ठूलो भवन, घरभित्र फोन नटिप्ने समस्याबाट पीडित हुनुपर्नेछ ।

 

 

 

 

2 thoughts on “नेपालमा बिक्री वितरण भइरहेको सामसङ् ब्राण्डका मोबाईल सेटहरु प्राविधिक रुपमा त्रुटीपूर्ण, नेपाल टेलिकमको सिममा मिल्दैन फ्रिक्वेन्सी

  1. Bg says:

    Tehi bhayera rahecha ntc ko network ramro nabhayeko hami chahi khali ntc laai matra dosh di rahyothyo aba ti byapari laai karbahi garnu parcha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*