मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्यांकसहित)
काठमाडौं । हाल संञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये ८ कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, आईजिआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरे मर्जर भई बनेका नयाँ कम्पनी हुन् ।
साबिकका आठ कम्पनी मर्ज भई बनेका चार कम्पनीहरुलाई दाजेर हेर्दा अधिकांश वित्तीय सूचकमा सिद्धार्थ प्रिमियर र हिमालयन एभरेष्ट अग्रस्थानमा रहेका छन् ।
बीमा कोषको आधारमा
बीमा कोषको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा दुई अर्ब ५० करोड रुपैयाँ सञ्चित रहेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको आईजिआई प्रुडेन्सियलको एक अर्ब ४० करोड रुपैयाँ, तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्टको एक अर्ब २९ करोड रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको ७४ करोड रुपैयाँ बीमा कोषमा सञ्चित रहेको छ ।
जगेडा कोषको आधारमा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स जगेडा कोषको आधारमा पनि अग्रस्थानमा रहेको वित्तीय विवरणले देखाएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ८९ करोड रुपैयाँ सञ्चित रहेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ६९ करोड, युनाइटेड अजोडको ६० करोड र आइजिआई प्रुडेन्सियलको ५६ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।
चुक्ता पुँजी
चुक्ता पुँजीको आधारमा आइजिआई पु्रडेन्सियल अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरको दुई अर्ब ८० करोड रुपैयाँ, हिमालयन एभरेष्टको दुुई अर्ब ३० करोड र युनाईटेड अजोडको एक अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
खुद बीमा शुल्क
समिक्षा अवधिमा खुद बीमा शुल्कका आधारमा हिमालयन एभरेष्ट अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीले खुद बीमा शुल्क बापत एक अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब १४ करोड रुपैयाँ, युनाइटेड अजोडले एक अर्ब ११ करोड र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ८५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
खुद दावी भुक्तानी
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी खुद दावी भुक्तानी गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा ७९ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।
त्यस्तै, समीक्षा अवधिमा युनाइटेड अजोडले ७० करोड रुपैयाँ, हिमालयन एभरेष्टले ६० करोड रुपैयाँ र आइजिआई प्रूडेन्सियलले ४३ करोड रुपैयाँको खुद दावी भुक्तानी गरेको प्रकाशित विवरणले देखाएको छ ।
लगानी, कर्जा तथा अन्य आय
वित्तीय विवरण प्रकाशित गरेका चार कम्पनीहरुमध्ये लगानी, कर्जा तथा अन्य आयबाट पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले ८७ करोड रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टले ६२ करोड रुपैयाँ, युनाइटेड अजोडले ३५ करोड र आइजिआई प्रुडेन्सियलले २१ करोड रुपैयाँ आम्दानी गरेको छ ।
व्यवस्थापन खर्चको आधारमा
व्यवस्थापन खर्चको आधारमा युनाइटेड अजोड अग्रस्थानमा रहेको छ । कम्पनीले समिक्षा अवधिमा ६३ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियरको ४७ करोड रुपैयाँ र आइजिआई प्रुडेन्सियलको ३५ करोड रुपैयाँ रहेको छ ।
मुनाफाका आधारमा
समिक्षा अवधिमा हिमालयन एभरेष्टले सबैभन्दा बढी मुनाफा आर्ज गरेको छ । कम्पनीले यस अवधिमा ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरले ३६ करोड रुपैयाँ, युनाइटेड अजोडले २९ करोड रुपैयाँ र आइजिआई प्रुडेन्सियलले २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
जारी बीमा पोलिसीको संख्याको आधारमा
गत असार मसान्तसम्ममा युनाइटेड अजोडले सबैभन्दा बढी बीमा लेख जारी गरेको छ । यस अवधिमा कम्पनीले २ लाख ४३ हजार २४० बीमा पोलिसी जारी गरेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टले २ लाख ११ हजार ९१२, सिद्धार्थ प्रिमियरले २ लाख ७ हजार ५९५ र आइजिआई प्रुडेन्सियलले एक लाख ३४ हजार ४९४ बीमालेख जारी गरेको छ ।
भुक्तानी हुन बाँकी दावी रकम
समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरले दुई अर्ब ६६ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ । यसका साथै आइजिआई प्रुडेन्सियलले दुई अर्ब १५ करोड रुपैयाँ, हिमालयन एभरेष्टले एक अर्ब ८७ करोड रुपैयाँ र युनाइटेड अजोडले एब अर्ब ७५ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।