सन नेपाल लाइफले कहिलेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजि ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो भने कम्पनीले त्यसमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १९३ रुपैयाँ थपेर कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरेको थियो ।
बाँकी शेयरमा ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको थियो भने ४ लाख ८० कजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ।
उक्त आईपीओमा लगानीकर्ताले बिहीबार देखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयावधिभित्र पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि भदौ १४ गतेसम्म् हुने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंक रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।