पर्सा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३० श्रावण २०८०, मंगलवार १२:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले आ.व २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम साउन २९ गते सर्लाही जिल्लाको पर्सा गापामा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको सभापतित्त्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पर्सा गाउँपालिकाका उप–अध्यक्ष नुतन देवीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा जिज्ञासा राखेका थिए । बीमकहरुले बीमालेख बिक्रि गर्दा बीमाको फाइदाहरु देखाउने तर दावीको समयमा बीमकहरु सम्पर्क बिहिन हुने गरेको गुनासो केहि सहभागीहरुले राखेका थिए ।

साथै, पशु बीमालेखमा चोरी भएको खण्डमा दावी भुक्तानी नदिने प्रावधान रहेको हुँदा सो प्रावधान हटाउनु पर्ने सुझाव समेत दिएका थिए । त्यसै गरी कुनै पनि बाली तथा पशुपन्छीको दुर्घटनाबाट क्षती हुँदा समयमै क्षती मूल्यांकन हुने व्यवस्था मिलाउन सुझाव दिएका थिए ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ शर्माले दिएकी थिइन् । साथै जीवन बीमकको प्रतिनिधीले बीमाको बारे स्थानीय भाषामा जानकारी समेत दिएका थिए । गाउँपालिकाका सुचना प्रविधि अधिकृतले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै जोखिमबाट सुरक्षित रहनको लागि बीमा आवश्यक रहेको र केन्द्रिय सरकारबाट कृषि तथा पशुपन्छी बीमामा दिदै आएको अनुदानले सरकार कृषक र कृषि क्षेत्र प्रति थप जिम्मेवार रहेको कुरा राखेका थिए ।

साथै, बीमा गर्दा ठुलो बीमाङ्कको नगरी आफ्नो आवश्यकता र आय श्रोतका आधारमा गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि पर्सा गाउँपालिकाका उपाध्यक्षले सहभागी जनप्रतिनिधिहरुलाई बीमा बारे गाउँ टोलसम्म जानकारी गराउन आग्रह गरेका थिए । साथै, आगामी दिनहरुमा बीमालाई गाउँपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।

कार्यक्रमको समापनमा शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र गाउँपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र सुझावका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिइन् । साथै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध समेत गरेकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*