मुस्ताङमा बाढीको वितण्डा, कागबेनीका २० वटा घरसहित सरकारी कार्यालय बगायो

२९ श्रावण २०८०, सोमबार १६:४१

काठमाडौं । मुस्ताङको वारागुड ४ कागबेनीधाममा आइतबार साझ आएको बाढीले बितण्डा मच्याएको छ । सोे बाढीले २० घर, प्रहरी चौकी र पुल लगायतका विभिन्न धार्मिक स्थलमा पुर्याई स्थानीयको जनजीवन प्रभावित बनाएको हो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको छ । बाढीले २० घर, होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले जनाएको छ ।

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालयलगायतका घर बगाएको जिप्रकाले जनाएको छ । प्रहरी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरू बिहानैदेखि घटनास्थलमा परिचालन भएर उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिप्रकाले जनाएको छ । प्रहरी चौकीको भवन बगाए पनि हातहतियारका सामान भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सफल भएको प्रहरीले जनाएको छ ।

कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिक स्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ । विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तस्वीरः सामाजिक सञ्जाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*