सन नेपाल नेपाल लाइफको आईपिओ साउन ३२ गतेदेखि खुल्ला हुने, ७६ लाख ८० हजार कित्ता आईपिओमा सर्वसाधारणले आवेदन दिन पाउने
काठमाडौं । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्री सम्पन्न गरेको सन नेपाल लाइफले अब सबै आम सर्वसाधारणको लागि ७६ लाख ८० हजार कित्ता आईपिओको बिक्री खुल्ला गर्ने निर्णय गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार यही साउन ३२ गतेदेखि भदौं ४ गते बैंकिङ समयसम्म आईपिओमा आवेदन दिन पाइनेछ ।
सन नेपाल लाइफको कूल जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको तीन करोड २० कित्ता शेयर मध्ये ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण शेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने अनुमति पाएकोमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी रहेको ८६ लाख ५० हजार कित्ता शेयर मध्ये पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि ४ लाख ८० हजार र कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता शेयर वितरण गरी बाँकी रहन आएको ७६ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिनेछ ।
सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । हालका दिनहरुमा आईपिओमा आवेदन दिन क्रम बढिरहेको र न्यूनतम् १० कित्ताको लागि गोलाप्रथा गर्नुपर्ने अवस्था रहेकोले न्यूनतम् १० कित्तामा आवेदन दिँदा पर्याप्त हुनेछ ।
सन नेपाल लाइफले आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङका अनुसार कम्पनी निकै बलियो रहेको देखाएको छ ।
आईपिओ आश्वा सदस्यता प्राप्त बैंक वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट पनि आवेदन दिन सक्नेछन् ।