आर्थिक संकट अस्थायी हो सुधार हुँदै जान्छः अर्थमन्त्री महत

धनबहादुर मगर
२१ श्रावण २०८०, आईतवार १९:३६

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान)को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत सम्वोधन गरेको बताए । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गरे ।
मन्त्री महतले अन्तर्राष्टिय परिस्थित, कोभिडको प्रभावको कारणबाट सिर्जना भएको असर अर्थतन्त्रमा अझै कायम रहेको उल्लेख गर्दै अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको बताए । सरकारले तरलता वृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने बताए ।

उनले सुशासनको महत्वपूर्ण कुरा लेखापरीक्षणसँग जोडिएको बताउँदै एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भुमिका रहेको बताए ।
उनले भने–‘यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ । हिसाब किताब चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाब किताब हेर्र्ने काममा महत्वपूर्ण भूमिका छ ।’

मन्त्री महतले अडानले हिसाब किताब चुस्त दुरुस्त राख्न तालिम दिनका लागि सिटिइभीटीसँग तालिम कार्यक्रम अघि बढाउन लागेकोमा धन्यवाद दिँदै सरकारबाट आवश्यक सहयोग गर्ने वचन दिए ।
मन्त्री महतले वजेटको स्रोत सुनिश्चितता गरेको आधारमा वहुवर्षे विकासका आयोजना अघि बढाउँदा पछि वजेटको नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताए ।
उनले व्यवसायीहरुलाई ऋण लिँदा आफ्नो क्षमता हेरेर, त्यसबाट कति प्रतिफल आउँछ, त्यसलाई हेरेर मात्र ऋण लिन र हचुवाको भरमा काम गर्दा समस्या आउने बताए ।
उनले नेपालमा काम गर्नका लागि धेरै सम्भावनाहरु रहेको बताउँदै धैर्यता राख्ने हो भने अवसरहरु रहेको र त्यसलाई उपभोग गर्नेतिर लाग्नुपर्ने बताए ।

मन्त्री महतले आर्थिक संकट भोगेको उद्योगी व्यवसायीहरुलाई सकारात्मक वहस शुरु गरेर हामी गर्न सक्छौं भन्ने मान्यताका साथ अघि बढ्न आग्रह गरे । उनले सम्भावना भएका क्षेत्रमा मात्र लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्दै कृषि लगायतका उद्योगहरुमा धेरै सम्भावना रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेपाल अडिटर्स एशोसियन (अडान)का अध्यक्ष केदारनाथ पौडेलले जुन उद्देश्यका लागि अडानको स्थापना गरिएको थियो त्यो उद्देश्य पूरा भएको बताए ।
स्थापना दिवसको अवसरमा अडानले प्रभातफेरी र रक्तदान कार्यक्रम समेत गरेको उल्लेख गर्दै झण्डै १ सय जनाले रक्तदान गरेको अध्यक्ष पौडेलले बताए ।
२०८० सालदेखि दर्तावाल लेखापरीक्षकलाई एक व्यक्ति एक पेशाको अवधारणा लागु गर्न लागिएको भन्दै सो नीति उपयुक्त नभएको बताए । उनले लेखा परीक्षक ऐन २०३१ विपरित एक व्यक्ति एक पेशाको रुपमा लेखापरीक्षकले काम गर्न समस्या हुने भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।

नेपाल चार्टट एकाउन्टेन्ट ऐन २०५७ संशोधन हुन लागेकोले त्यसलाई संशोधनको क्रममा जाँदा त्यसमा छलफल गरेर अगाडि लैजानुपर्ने उनले बताए ।
अध्यक्ष पौडेलले प्रोफेश्नल एकाउन्टेन्ट विषय पढाउनका लागि सिटिइभीटीबाट पढाउनेगरी १६ सय ९६ घण्टाको कक्षा हुने, ८० प्रतिशत सैद्धान्तिक र २० प्रतिशत अभ्यासगत कोर्ष सञ्चालन गर्ने तयारी गरेको बताए । उनले पाठ्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगी व्यवसायी मैत्री नीति ल्याउन सरकारलाई आग्रह गरे ।
चार्टस एकाउन्टेन्ट संघ एक्यानका अध्यक्ष दिपक पाण्डेले बजारमा अडिर्टसको ब्राण्ड स्थापना गर्न सफल गराएकोमा चार्टड एकाउन्टेसको तर्फबाट अडिटरहरुलाई धन्यवाद दिए ।
उनले नेपालबाट चार्टड एकाउन्टेन्टहरु दुबई, मलेसिया, अष्ट्रेलिया, यूरोप लगायतका देशमा पलायन हुने अवस्था रहेको बताए । पाण्डेले राज्यको नीति नियम बनाउँने ठाँउमा सिएहरुले भूमिका खेल्न सक्ने, अहिले राज्यका ३ तहमा पनि सिएले भूमिका खेल्न सक्ने भएपनि त्यो वातावरण नभएको बताए ।

उनले चार्टस एकाउन्टेन्ट संघ र नेपाल अडिर्टस एशोसियसनका मुद्दाहरु समान भएकोले त्यसमा सँगै हातोमालो गरेर जान सक्ने बताए । उनले लेखापरीक्षकहरु एक व्यक्ति एक पेशामा लाग्ने नीति उपयुक्त नभएको बताए ।
कार्यक्रममा कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले संस्थाहरुको आर्थिक अवस्थाले देशको आर्थिक अवस्था देखाउँने बताउँदै त्यस्ता संस्थाहरुको लेखापरीक्षण गर्दा देशका लागि सहयोग पुग्ने बताए । अडानको काम महालेखा परीक्षकको कार्यालयसँग पनि जोडिएको उल्लेख गरे ।

यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अडानले उठाएका विषय र मुद्दाहरुमा उद्योग वाणिज्य संघको पनि साथ रहेको बताए । धेरै उद्योग व्यवसाय पलायन भएर गएको, धेरै सटरहरु बन्द भएको, धेरै उद्योगीहरु पलायन भएको बताउँदै उद्योगीहरुका लागि सहज नीति ल्याउनका लागि आग्रह गरे । उनले उद्योग क्षेत्रलाई सहयोग पुग्यो भने मात्र देश विकासमा सहयोग पुग्ने, उद्योगीहरु पलायन भएको उल्लेख गर्दै ढकालले त्यसतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले जिल्ला–जिल्लामा एकाउन्टिङको धेरै समस्या रहेको बताए । एकाउन्टको हिसाब राख्न सक्ने जनशक्ति नरहेको बताउँदै जिल्ला जिल्लामा युवाहरुलाई यसबारे तालिम गराउन मन्त्रालयलाई भनेको उल्लेख गरे । अडानको तर्फबाट सिटिइभिटी मार्र्फत एकाउन्टिङ्गको तालिम दिने काम सकारात्मक रहेको बताउँदै उनेले दक्ष जनशक्तिलाई गाउँ जाने वातावरण बनाउनुपर्ने बताए ।

उनले हिजोको तुलनामा काम घटेको तर बैंकको व्याज नघटेको, आधा भन्दा बढी व्यवसायी कालोसूचीमा परेको भन्दै यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए । व्यावसायीलाई परेको आर्थिक संकट समाधान गर्नका लागि जिम्मेवारीपूर्वक नीति ल्याउन उनले आग्रह गरे ।
नेपाल अडिटर्स एशोसियन (अडान) को ६५ जिल्लामा संगठन विस्तार भएको छ भने ७ हजारबढी सदस्यहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*