वित्तिय विवरणमा देखियो एनआईसी एसिया बैंकको उत्कृष्ट प्रगति, प्रतिशेयर आम्दानी सबैभन्दा उच्च
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ भने अन्य सबै सूचांकमा प्रगति देखिएको छ ।
बैंकले कूल तीन खर्ब ११ अर्ब डिपोजिट परिचालनमार्फत चार अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । गत आवमा कम्पनीको मुनाफा चार अर्ब २१ करोड रुपैयाँ थियो । समीक्षा अवधीमा बैंकको मुनाफा १० प्रतिशत बृद्धि भएको छ । त्यस्तै, वितरणयोग्य मुनाफा समेत ८ प्रतिशतले बृद्धि भई तीन अर्ब ४२ करोडबाट बढेर तीन अर्ब ६९ करोड पुगेको छ ।
यही उत्कृष्ट नतिजाको कारण बैंकले आफ्ना लगानीकर्ताहरुलाई सबैभन्दा उच्चतम प्रतिफल दिन सक्षम भएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । बार्षिक वित्तीय विवरणका आधारमा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ । यो २० वटै वाणिज्य बैंकमध्ये सबैभन्दा उत्कृष्ट हो । गत वर्ष बैंकको प्रतिशेयर आम्दानी ३६.४५ रुपैयाँ रहेको थियो ।
रकम रु हजारमा
बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा २ खर्ब ७१ अर्ब परिचालन गरेको थियो । बैंकको निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ । जुन अन्य बैंकहरुको तुलनामा सबैभन्दा उत्कृष्ट हो ।
एनआईसी एसियाले समीक्षा अवधीमा कूल ३८ अर्ब ब्याज असुल गरी २६ अर्ब रुपैयाँ निक्षेपकर्तालाई ब्याज वितरण गरेको छ । त्यस्तै, बैंकको डिपोजिट ७ प्रतिशतले बृद्धि हुँदा कर्जा जम्मा ४ प्रतिशतले बृद्धि भएको छ । बैंकले ब्याज आम्दानी १७ प्रतिशतले बृद्धि हुँदा ब्याज खर्चमा २१ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, बैंकले फि र कमिशनमा १५ प्रतिशतले बृद्धि भएको देखिएको छ । बैंकले फि र कमिशन बापत दुई अर्ब ३२ करोड २४ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
समीक्षा अवधीमा बैंकको ब्याजदरको स्प्रेड दर ४.४० बाट घटेर ३.९९ मा झरेको छ । त्यस्तै, बेस रेट ९.२५ बाट बढेर ९.९८ पुगेको छ ।
एनआईसी बैंकको सिईओमा रोशन न्यौपाने रहेका छन् भने अध्यक्ष तुलसीलाल अग्रवाल रहेका छन् ।