नेप्सेमा आइएमई लाइफको २ करोड कित्ता आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर भोलि शुक्रबार भएकोले आईतबार दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता (३० प्रतिशत) छन्।
नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ तोकेको छ ।
कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, लैनचौरमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुनेछ ।
हाल कम्पनीले देशभरि आफ्ना १४० शाखा तथा उपशाखा कार्यालयहरु मार्फत सेवाग्राहीहरुलाई जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनी सञ्चालनको छैंटौं वर्षिक उत्सव मनाउने क्रममा रहेको आईएमई लाइफले देशव्यापीरुपमा विविध कार्यक्रम गरी बीमा जागरण एवं सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ ।