टुथपिक, सियोदेखि पेचकिला र नटबोल्टसम्मको आयातमा बाहिरियो अर्बाै रकम

१४ श्रावण २०८०, आईतवार १२:०७

काठमाडौं । भन्सार विभागको पछिल्लो एक विवरणले गत आवमा एक करोडभन्दा बढीको दाँत कोट्याउने सिन्को टुथपिक, १ करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर, दुई करोड बराबरको सियो तथा सेफ्टी पिन आयात भएको देखाएको छ । हेर्दा सामान्य लाग्ने र मुलुकमा नै सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्न सकिने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिएको हो ।

विकासोन्मुख मुलुकमा उत्पादनको ठूलो महत्व रहन्छ । कुनै पनि मुलुक उत्पादनतर्फ आत्मनिर्भर नभएसम्म त्यस मुलुकले फड्को मार्न सक्दैन । यस्तो विकासोन्मुख देशमा वस्तु आयात तथा निर्यातले अर्थतन्त्रमा ठूलो भुमिका खेलिरहेको हुन्छ । साना तथा सामान्य वस्तुभन्दै बेवास्ता गरेर उत्पादनलाई छोडि आयातलाई ध्यान दिदा त्यसले देशकै अर्थतन्त्रमा गम्भिर असर पुग्ने विज्ञहरु बताउछन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १ करोड १३ लाख ३६ हजारको दाँत कोट्याउने टुथपिक, १ करोड बराबरको ह्याङगर, १ करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजारको सियो आायात भएको देखिएको छ ।
त्यस्तै गत आवमा १ अर्बभन्दा बढीको फलाम र स्टिलका नटबोल्ट, १ अर्ब २६ करोड ५४ लाखमाथिको मूल्यमा पेचकिला तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्यको नट आयात भएको विवरणमा देखिएको छ ।

तथ्यांकअनुसार गत आवमा १५ करोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको देखिएको छ । यी वस्तुहरु मुलुकमै सामान्य प्रविधि र कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमै उत्पादन गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*