जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आम्दानीमा झिनो बृद्धि, नेपाल लाइफ, नेशनल लाइफ र आइएमई लाइफ सबैभन्दा उत्कृष्ट, अन्यको अवस्था कस्तो ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्रारम्भिक रुपमा प्राप्त आव २०७९।०८० को तथ्याङ्क र अघिल्लो आव २०७८।०७९ को तथ्याङ्क विश्लेषण गर्दा चरम आर्थिक संकटका बीचमा नेपाली बीमा क्षेत्रमा झिनो अंकको बृद्धि हासिल गरेको तथ्यले औल्याएको छ । उक्त बृद्धिका बीचमा नेपाल लाइफ सबैभन्दा धेरै कुल बीमा शुल्क संकलन गरेर शीर्ष स्थानमा रहन सफल भएको छ भने नेशनल लाइफ बीमा शुल्कको आकार तथा बृद्धिदरका आधारमा उच्च स्थानमा रहेर उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै, आइएमई लाइफले उत्कृष्ट बृद्धि गरेर पुराना कम्पनीहरुलाई समेत चक्मा दिन सफल भएको छ ।
आज प्रकाशित विवरण अनुसार गत आवको तुलनामा ५.०४ प्रतिशतको बृद्धि सहित नेपाल लाइफ सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले कूल ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ देखिएको छ । सो कम्पनीले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ कूल बीमा संकलन गर्न सफल भएको छ । नेशनल लाइफ बृद्धिदरका आधारमा १४.४९ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, आइएमई लाइफ बृद्धिदरका आधारमा उत्कृष्ट हुन सफल भएको छ । सो कम्पनीले सर्वाधिक १८.२६ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ ।
गत आवमा ९ वटा कम्पनीको कूल बीका शुल्क आम्दानी बृद्धि भएको छ । त्यस्तै, पाँच वटा कम्पनीको कूल बीमा शूल्क अघिल्लो आवको तुलनामा घटेको छ । कुल बीमा शुल्क बृद्धि भएका अन्य कम्पनीहरुमा सूर्यज्योति लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
त्यस्तै, कूल बीमा शुल्क घटेर व्यवसाय हिस्सा गुमाउने कम्पनीहरुमा प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ र एलआईसी नेपाल रहेका छन् ।
बृद्धिदरका आधारमा
कूल बीमा शुल्क अघिल्लो आवको तुलनामा बृद्धिदरका आधारमा गत आवमा सबैभन्दा उत्कृष्ट आइएमई लाइफ हुँदा दोस्रो स्थानमा नेशनल लाइफ परेको छ । बृद्धिदरका आधारमा तेस्रो स्थानमा सन नेपाल लाइफ परेको छ । सो कम्पनीको कूल बीमा शुल्क ११.५९ प्रतिशतले बृद्धि भई तीन अर्ब ७५ करोड नाघेको छ । त्यस्तै, चौथो स्थानमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीको कूल बीमा शुल्क पाँच अर्ब ८९ करोड पुगेको छ । अघिल्लो आवमा पाँच अर्ब ४३ करोड रुपैयाँ मात्रै थियो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५.०४ प्रतिशत, सानिमा रिलायन्सको ३.६४ प्रतिशत, एशियन लाइफको २.०१ प्रतिशत, मेट लाइफको ०.५९ प्रतिशत, सूर्यज्योति लाइफको ०.०१ प्रतिशत रहेको छ ।
गत आवमा पाँच कम्पनीको कूल बीमा शुल्क आम्दानी ऋणात्मक देखिएको छ । प्रभु महालक्ष्मी लाइफपछि हिमालयन लाइफको -४.२५ प्रशित, एलआईसी नेपालको -४.१८ प्रतिशत, रिलायबल नेपाल लाइफको -३.९१ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको -१.९६ प्रतिशतले घटेको छ ।