निजगढ नगरपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

२५ असार २०८०, सोमबार १२:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानीय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको निजगढ नगरपालिकासँग निजगढ पार्टी प्यालेसमा सम्पन्न गरेको छ  उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरुले केरा खेतीको बीमा गर्न नमानेको र किसानले चाहेको समयमा बीमा हुन नसकेको गुनासो गरेका थिए । पशुपन्छीको बीमा गर्नका लागि जिल्लाका लागि तोकिएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बाहेक अन्य कम्पनीहरु तयार हुने तर केरा खेतीको बीमाका लागि अन्य कम्पनीहरुले बीमा गर्न नमानेको हुँदा किसानहरुलाई समस्या परेको गुनासो गरेका थिए । सहज र सरल रुपमा बीमा गर्न पाउने अवस्था रहेमा किसानहरु अन्य बालीहरु जस्तै मकै, धान, तरकारीहरु सबैको बीमा गर्ने कुरा राखेका थिए । किसानहरुले बीमा सजिलै गर्न सकिने गरी पालिकाले पनि सहजिकरण गरिदिनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा केरा तथा फलफुल उत्पादक संघका अध्यक्ष एक बहादुर श्रेष्ठले बीमा गर्नका लागि किसानहरु तयार रहेको तर समयमा बीमा गर्न नपाएको हुँदा त्यसलाई सहजिकरण गरिदिनुहुन नेपाल बीमा प्राधिकरणलाई आग्रह गरेका थिए । त्यस्तै, वागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर गौतमले कृषकहरुले पनि बीमा गर्दा आफुले राम्रोसँग बुझेर गर्नुपर्ने र किसानहरु पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स सिमरा शाखाका शाखा प्रमुख श्रीराम रेग्मीले बारा जिल्ला कुषि तथा पशुपन्छी बीमाका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा किसानहरुको बीमा गर्दै आइरहेको बताएका थिए । किसानहरुले पनि केरा खेती बीमाका लागि तोकिएको मापदण्ड अनुसार नै केरा खेती गरेमा बीमा गर्नका लागि कुनै किसिमको समस्या नरहेको कुरा बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुरथ पुरीले बीमा सबैका लागि आवश्यक रहेको र बीमा गरी सबै नागरिकहरु ढुक्क भई बस्ने वातावरण हुनुपर्ने बताएका छन् ।
कार्यक्रम समापनका क्रममा कार्यक्रमका सभापति नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, राजुरमण पौडेलले सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा किसानहरुको घर दैलोबाट नै बीमा दावी भुक्तानी पाउने गरी काम गराउनका लागि बीमा कम्पनीलाई निर्देशन दिएको कुरा समेत सहभागीहरुलाई जानकारी दिएका थिए । किसानहरुले पनि बीमा गर्दा प्राविधिक रुपमा तोकिएका मापदण्ड पुरा गरी बीमा गर्नुपर्ने र भोलीका दिनमा दावी भुक्तानी लिनका लागि समस्या नहुने गरि काम गरेमा बीमालाई थप शसक्त र धेरै भन्दा धेरै नागरिक सम्म पुर्याउन सकिने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, विशेष अतिथिका रुपमा केरा तथा फलफुल उत्पादक संघ निजगढका अध्यक्ष एक बहादुर श्रेष्ठ, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा रहेका थिए । यसका साथै, कार्यक्रममा बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्ले, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु,  पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका प्रदेश कार्यालयका प्रमुखहरु तथा शाखा कार्यालयका प्रतिनिधिहरु तथा महिला समुहका व्यक्तिहरु सहभागि रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*