४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा सक्रिय रमेश कुमार भट्टराई बने प्रभु महालक्ष्मी लाइफको सिईओ

२४ असार २०८०, आईतवार १२:२०

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही आषाढ २९ गते हुने निर्णय भइसकेको छ ।

दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नु भएका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत थिए । २०३८ सालमा नेपाल बैंकको अधिकृत बाट बैकिङ करियर प्रारम्भ गरेका उनी विगत ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत रहेका छन् ।

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक उनले संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यस पछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत रहेका छन् । विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेको उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*