गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भोलिबाट औपचारिक रुपमा कारोबार सुरु गर्ने, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलबाट उद्घाटन
काठमाडौं । गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलिबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गर्ने भएको छ । नेपालमा पहिलो पटक लघु जीवन बीमा कम्पनीले कारोबार सुरु गर्न लागेको हो ।
भोलि शुक्रबार विराटनगरस्थित मुनालपथमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा भव्य रुपमा उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रम नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्नेछन् ।
गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ चिरायु भण्डारीले भोलिबाट औपचारिक रुपमा कम्पनीले कारोबार शुभारम्भ गर्ने जानकारी दिए । ७५ करोड चुक्ता पुँजि भएको गार्जिन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो लघु जीवन बीमा कम्पनीको रुपमा कारोबार शुभारम्भ गर्न लागेको हो ।
नेपालमा पहिलो पटक जीवन बीमाको व्यवसाय सुरु गर्न लागेकोमा आफू निकै उत्साहित रहेको सिईओ भण्डारीले बताए । भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा लामो समय सिईओका रुपमा काम गरेका अनुभवी व्यक्ति हुन् ।
गाउँ गाउँका गरिब जनताको माँझमा स–साना बीमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बीमा कम्पनीहरुको आगमनसँगै बीमाको दायरा अझै बृद्धि हुने विश्वास गरिएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षमा उदिप श्रेष्ठ रहेका छन् भने सिईओ चिरायु भण्डारी रहेका छन् ।