एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद निष्काशन गर्न प्राधिकरणको अनुमति, चुक्ता पुँजि दुई अर्ब ४२ करोड नाघ्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गरी पुँजि बृद्धि गर्न अनुमति प्रदान गरेको छ । प्राधिकरणले आजै सो सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।
प्राधिकरणका अनुसार कम्पनीको हालको चुक्ता पुँजि एक अर्ब ४५ करोड ९२ लाखको ६६ प्रतिशत अर्थात ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । उक्त हकप्रद निष्काशन प्रक्रिया पूरा भएपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब ४२ करोड २३ लाख ९८ हजार पुग्नेछ । कम्पनीले साढे दुई अर्ब चुक्ता पुँजि पुर्याउन बोनस शेयरबाट सजिलै पुर्याउन सक्ने देखिएको छ ।
गत वर्ष नेपाल बीमा प्राधिकरणले तोकेको साढे दुई अर्ब चुक्ता पुँजिको लागि एनएलजी इन्स्योरेन्सलाई अनुमति दिएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीको रुपमा संस्थापित एनएलजी इन्स्योरेन्स कम्पनीलाई प्राधिकरणले न्यायोचित निर्णय गर्दै अनुमति दिएको हो । कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५० प्रतिशत संस्थापक शेयर रहेको छ ।
निर्जीवन बीमा क्षेत्रमा गाउँ गाउँमा पुगेर कृषि तथा पशु बीमाको साथै सम्पत्ति बीमा, इन्जिनियरिङ, मोटर बीमा गर्दै आएको कम्पनीले दावी भुक्तानी समयमा दिँदै बीमित माँझ लोकप्रिय बनिरहेको छ । ।
हकप्रद जारी गर्ने काम छिट्टै सम्पन्न हुने कम्पनीले जनाएको छ । हकप्रद सम्बन्धी प्रक्रिया पूरा भएसँगै कम्पनीको जोखिम धारण क्षमता बृद्धि भई बीमा व्यवसाय अझै प्रभावकारी रुपमा अघि बढाउन एनएलजी इन्स्योरेन्स कम्पनीलाई सजिलोे हुनेछ ।