बीमा प्राधिकरण र बीमा कम्पनीको पक्षमा बनाइयो बीमा नियमावली, सरोकारवालासँग छलफल नै नगरी मन्त्रालयमा बुझाइयो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बहुपक्षीय र सबै सरोकारवालासँग छलफल नै नगरी बीमा नियमावली २०८० तयार पारेका कारण समग्र बीमा क्षेत्रमा समस्या आउने देखिएको छ । बीमा प्राधिकरणका कोठामा केही व्यक्तिहरुको स्वार्थ राखेर बनाइएको र बीमा ऐन २०७९ को कार्यान्वयनमा सहजिकरण गर्नुपर्ने बीमा नियमावली केही कम्पनीहरुको स्वार्थ पूरा गर्ने साधनको रुपमा अर्थ मन्त्रालयमा पुर्याइएका कारण समस्या उत्पन्न हुने भएको छ ।
बीमा प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० हाल अर्थ मन्त्रलायमा पुगिसकेको छ । तर, बीमा प्राधिकरणले सम्बन्धित सरोकारवालासँग बहुपक्षीय छलफल नै नगरी गोप्य रुपमा तयार पारेको बीमा नियमावली कार्यान्वयनमा चुनौति देखिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष आफ्नै अनिश्चित रहेकोले बीमा नियमावलीमा चासो दिन भ्याएका छैनन् भने प्राधिकरणमा बीमाको दीगो विकास, स्थायित्व र बीमितमैत्री सोच भएको दक्ष जनशक्तिको आभावमा बीमा नियमावली नै अपुरो बन्न पुगेको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै नियमावली बनाउने प्रक्रिया अनुसार कुनै पनि कानुन कार्यान्वयन गर्न बनाइने नियमावली सबै सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै कुनै पनि नियमावली बनाउने गरिन्छ । बेलायतमा एक पटक सरकारले सरोकारवालासँग छलफल गरेको पुष्टि गर्न नसक्दा नियमावली नै पुनः बनाउनु परेको इतिहास साक्षी छन् । तर, व्यवसायिक अभ्यास गर्न बाँकी रहेको बीमा प्राधिकरणले बीमितहरुलाई अप्ठेरो पार्ने गरी बीमा नियमावली बनाउँदै गरेको सूचना प्राप्त भएको छ ।
केही दिन पहिले पेशागत बीमा अभिकर्ताले व्यापक आन्दोलन गरेपछि अहिले अर्थ मन्त्रालयले सबै सरोकारवालासँग छलफल गरेर मात्रै बीमा नियमावली पुःन पेश गर्न भनेको छ । लगत्तै सर्भेयरहरु पनि गम्भिर चासोको विषय लिएर बीमा प्राधिकरणमा धाइरहेका छन् । तर पहुँचवाला बीमा अभिकर्ता र सर्भेयरहरु अर्थ मन्त्रालय, कानुन मन्त्रालय र बीमा प्राधिकरण धाए पनि असंगठित बीमितको पक्षमा कसले बोलिदिने ? बीमितको हितमा काम गर्दै आएका अधिवक्ता बलराम श्रेष्ठले भने, ‘बीमा नियमावली बन्न लागेको कुरा बीमितहरुलाई थाहै छैन, सामाजिक अभियान्ताहरुलाई पनि दिइएको छैन । यस्तो अवस्थामा तत्काल अर्थ मन्त्रालयले ध्यान दिनुपर्दछ ।’
नेपाल बीमा प्राधिकरणले हालसम्म बीमितसँग कुनै परामर्श गरेको जानकारी प्राप्त भएको छैन । प्राधिकरणकै अधिकारीहरु बीमा नियमावली गैर कानुनी तरिकाले बनाइएको स्वीकार गर्दछन् । आखिर कसले बनाउँदैछ ? बीमा नियमावली ? माफियाको इन्ट्रेष्ट बीमा नियमावलीमा घुसेको चर्चा प्राधिकरणभित्रै चलिरहेको छ ।
स्रोतका अनुसार प्राधिकरणका उच्च अधिकारीहरुले बीमक संघ र जीवन बीमक संघसँग बसेर नियमावली बनाएको हो । त्यस बाहेकका स्टेक होल्डरलाई थाहै नदिई बीमा नियमावली आउन लागेकोले यसले बीमाको दीगो विकास र समृद्धि भन्दा पनि कम्पनीहरुको पक्षपोषण र नियामक बीमा प्राधिकरणका कर्मचारीहरुलाई कमाउ धन्दाको लागि फाइदा पुग्नेछ ।
एक बीमा कम्पनीका उच्च अधिकारीले कोरोना बीमा जस्तै केही सीमित व्यक्तिको लहै लहैमा लागेर बीमा प्राधिकरणका कर्मचारीले बीमा नियमावली ड्राफ्ट गरेको आरोप लगाएका छन् । सो सम्बन्धमा नेपाल बीमा प्राधिकरणले कुनै प्रतिक्रिया दिएको छैन ।