पूर्वी नेपालमा बाढीबाट दर्जनौं बेपत्ता, अर्बौको क्षति, सुपर हेवाखोला हाइड्रोपावरमा कार्यरत १७ जनालाई बाढीले बगायो

४ असार २०८०, सोमबार ०९:३८

काठमाडौं । विगत तीन दिनदेखि परेको भिषण बर्षासँगै आएको बाढीका कारण ताप्लेजुङ, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाहरुका दर्जनौं मानिसहरुलाई बगाएर बेपत्ता बनाएको छ ।

संखुवासभाको हेवाखोलामा निर्माणाधिन सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेवा खोलाले मात्रै २२ जनालाई बगाएको छ । उनीहरु सबैको अवस्था अज्ञात रहेको छ । सबैभन्दा धेरै एकै ठाउँबाट चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुरहरु बेपत्ता बनाएको हो । उनीहरु बसेको अस्थायी टहराबाट बाढीले बगाएको थियो । प्रहरीले दिएको जानकारी अनुसार वेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (संखुवासभा) छन् ।

भिषणबाढीसँगै ताप्लेजुङ सदरमुकाम यातायात सम्पर्क विच्छेद भएको छ । बाढीका कारण ताप्लेजुङमा पनि ठूलो क्षति पुगेको छ । त्यस्तै, पाँचथर र भोजपुरमा पनि बाढीले क्षति पुर्याएको छ । विगत तीन दिनदेखि लगातार बाढी गरिरहेको ताप्लेजुङमा आज विहान पनि पहिरोले सर्वसाधारणको घर बगाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

यसैबीच, अपर हेवाखोला जलविद्युत आयोजनाले बाढीका कारण असार २ गतेदेखि ८.५ मेगावाटको जल विद्युत आयोजनामा क्षति पुगेकोले उत्पादन बन्द भएको जनाएको छ । उक्त आयोजनामा कति क्षति पुगेको भन्ने विवरण प्राप्त भएको छैन ।

बाढीले अर्बौको भौतिक सम्पत्तिको क्षति पुगेको छ । सो क्षेत्रमा निर्माणाधिन विद्युत आयोजनाहरुमा ठूलो क्षति पुगेको प्रारम्भिक रुपमा प्राप्त विवरणमा जनाइएको छ । त्यस्तै, जनसधारणको घर तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको हो । हेवा खोलाले संखुवासभालाई जोड्ने पुल नै बगाएको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै विहान दैवी प्रकोपग्रस्त क्षेत्रमा तत्काल खाद्यान्न, आवश्यक सामग्री तथा आम सर्वसाधारणलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन गृह मन्त्रालालय मातहतका निकायलाई निर्देशन दिएका छन् । आजै विहान प्रधानमन्त्री प्रचण्डले ताप्लेजुङ्का नेतासँग भेटवार्ता गरी प्राकृतिक प्रकोप पीडित जनतालाई राहत प्रदान गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका छन् । तस्विर सौजन्यः रासस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*