रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।रिलायबलले १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।कम्पनीले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको भन्ने पनि जनाउँछ ।