प्रधानमन्त्री प्रचण्डको पहलमा फिलिपिन्समा अलपत्र ६५ जना नेपालीको उद्धार

३० जेष्ठ २०८०, मंगलवार ११:३३

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सचिवालयको पहलपछि फिलिपिन्सको पामपाङ्गामा अलपत्र परेका ६५ जना नेपालीको सकुशल उद्धार गरिएको छ । मानव तस्करहरुले भिजिट भिषामा बोलाएर त्यहाँ थुनेर राखिएको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरी अपलत्र परेका ६५ जना नेपालीहरु हिजो नेपाल आइपुगेका छन् ।

अनलाइनमार्फत कामको ग्यारेन्टी गर्दै बोलाएर साईबर क्राइम सम्बन्धी कार्यमा लगाइएका नेपालीहरुलाई सरकारले कुटनीतिक पहल गरी हवाई जहाजको टिकट समेतको व्यवस्था गरेर उद्धार गरेको हो ।
त्यहाँ रहेका ६९ जना मध्ये चार जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेर बाँकीलाई नेपाल फर्काइएको हो । बाँकी रहेका चार जना पनि छिट्टै नेपाल फर्कनेछन् ।

प्रचण्डको प्रमुख स्वकिय सचिव सन्तु दराईले परराष्ट्र मन्त्रालयमार्फत र मलेसियास्थित दुताबासमार्फत पहल गराएर विगत दुई महिनादेखि फिलिपिन्समा अलपत्र नेपालीहरुलाई स्वदेश फर्काइएको हो । अलपत्र परेकाहरुलाई सरकारले निःशुल्क स्वदेश ल्याउने व्यवस्था गरेकोमा अलपत्र परेकाहरुले सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले यही जेठ १२ गतेदेखि फिलिपिन्समा अलपत्र नेपालीहरुको उद्धार गर्न पहल सुरु गरेको थियो ।

प्रम प्रचण्डका प्रमुख स्वकीय सचिव सन्तु दराई

फिलिपिन्सको सन भ्याली कर्पोरेशन नामक कम्पनीले नेपालसहित, बंगलादेश, मलेसिया, इण्डोनेसिया, भियतनाम लगायतका देशहरुबाट भिजिट भिषामा बोलाएर काममा लगाउने र आकर्षक तलव सुविधा दिने भन्दै प्रलोभनमा पारेर एक हजार भन्दा बढि मानिसलाई भेला पारेको थियो । सो कुरा फिलिपिन्सको राष्ट्रिय प्रहरीको साइबरविरुद्धको अपराधको टोलीले सूचना पाएपछि पामपाङ्गामा रहेको सो कम्पनीमा छापा मारेको थियो । छापा मार्नेक्रममा नेपाली सहित विश्वका अन्य देशका नागरिकहरुलाई प्रहरीले उद्धार गरेर राखेको थियो ।

भिजिट भिषामा गएका, प्रहरीले पासपोर्ट जफत गरेको अवस्थामा प्रहरीको आरक्षण बस्दै आएका उनीहरुले विगत एक महिनादेखि अलपत्र अवस्थामा बस्दै आएका थिए । अलपत्र उनीहरुलाई सरकारले मलेसियामा रहेको दुताबासमार्फत यात्रा अनुमति पत्र बनाएर आप्रबासन सम्बन्धी संयुक्त राष्ट्र संघीय संस्था आईओएममार्फत टिकट कटाएर स्वदेश ल्याइएको हो । सरकारले कुटनीतिक पहल गरी राज्यकोषबाट खासै खर्च नगरी उनीहरुको उद्धार गर्न सफल भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*