मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न प्रभु र महालक्ष्मी लाइफको साधारण सभा कहिले बस्दैछ ?

२२ जेष्ठ २०८०, सोमबार १८:०३

काठमाडौं । मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा यहि जेठ २६ गते छुट्टाछुट्टै बस्दैछ । प्रभु लाइफको पाँचौ साधारण सभा लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजे र महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा होटल अकामा, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।

दुबैको सो सभाले मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

साथै सभाले प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ ।

एकआपसमा मर्ज भएपछि बन्ने कम्पनीका सञ्चालक समितिमा कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

साथै प्रभु लाइफको सो सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश रहेको छ । सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ ।

लाभांश वितरण प्रयोजनका लागि प्रभु लाइफले जेठ १२ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ जेठ १२ गते सार्वजनिक विदा परेको हुँदा जेठ १० गतेसम्म कायम शेयरधनीहरुले सभामा उपस्थित हुन र लाभांश पाउनेछन् । यता महालक्ष्मी लाइफले भने सर्वसाधारणमा आइपीओ निष्काशन नगरेको कारण कुनै खालको लाभांश प्रस्ताव समावेश गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*