अजोड र युनाइटेड इन्स्योरेन्सबीचको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने सम्बन्धमा सेबोनले अन्तिम स्वीकृति दिएको हो ।
यी दुई कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान गरिसकेको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को व्यवस्था बमोजिम सेबोनले यी दुई कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
मर्जरपछि यी दुई कम्पनीले यही जेठ १४ गते एकीकृत कारोबार सुरु गर्ने भएको छ । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई कम्पनीबीच स्वाप रेसियो १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउनेछन् । मर्जरपछि कम्पनीको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् भने सीईओ युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट हाल आइएमई प्रुडेन्सियलमा डेपुटी सिईओ रहेका श्रवण रावल बन्नेछन् ।