कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो, कुटनीतिक प्रयासबाट फिर्ता ल्याइनेछ: प्रम प्रचण्ड

९ जेष्ठ २०८०, मंगलवार १५:१४

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भू–भाग भएको दावी गर्दै सरकारले कुटनीति प्रयासबाट फिर्ता ल्याउन पहल भइरहेको संसदलाई जानकारी गराएका छन् ।
सरकारको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले अतिक्रमण गरेको, सेना नै राखेर नेपाली भू–भाग कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दृढतापूर्वक राष्ट्रिय सभालाई जानकारी गराउँदै भने, ‘देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सीमानाको सुरक्षा गर्न सरकार सदैव सचेत र प्रतिबद्ध छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभाग हो भन्ने कुरामा नेपाल सरकार बडो प्रष्ट छ र थाँती रहेका सीमा ऐतिहासिक सन्धी, सम्झौता, तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलमार्फत समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको कुराको जानकारी म माननीय सदस्यहरुलाई गराउँदछु ।’

यसअघिको नेकपा (नेकपा) नेतृत्वको सरकारले संसदमार्फत संविधान संशोधन गरी नेपालको चुच्चे नक्सा जारी गरेको थियो । प्रधानमन्त्री प्रचण्डले नेपालको नक्साभित्रको भूमि नेपाली भूमि भएको बताउँदै उचित कुटनीतिक पहलमार्फत फिर्ता ल्याइने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई चुच्चे नक्साको विषयमा स्पष्ट धारणा बनाउन नसकेको आरोप एमालेले लगाउँदै आएको थियो । तर, अब प्रधानमन्त्रीले संसदमै यस विषयमा स्पष्ट र दृढ प्रतिबद्धता व्यक्त गरेपछि चुच्चे नक्साले समेटिएको भूभागमाथिको पुनः दावी प्रस्तुत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*