दुई दिनदेखि १५ बीमा कम्पनीमार्फत अत्यावश्यक सेवा ठप्प, देशैभरिका लाखौं किसान प्रभावित

८ जेष्ठ २०८०, सोमबार १२:०८

काठमाडौं । नेपाल बीमक संघको नाममा निर्णय नै गरेर विगत ४८ घण्टादेखि सार्वजनिक सेवा पशु तथा कृषि बीमा सेवा ठप्प छ । नेपाल बीमक संघले औपचारिक निर्णय नै गरेर यही जेठ ७ गतेदेखि देशैभरिका पशु तथा कृषि बीमा सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल बीमक संघको निर्णय अनुसार देशैभरिका १५ वटा निर्जीवन बीमा कम्पनीहरुले हिजो जेठ ७ गतेदेखि कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्न र दावी भुक्तानी दिन बन्द गरेका छन् । संघको निर्णय अनुसार नै सबै बीमा कम्पनीहरुले पोलिसी जारी गर्न र दावी भुक्तानी रोकिएको बीमा कम्पनीहरुले स्वीकार गरेका छन् ।

गृहमन्त्रालयले बैंक तथा वित्तीय सेवालाई सार्वजनिक सेवा मात्रै नभएर अत्यावश्यक सेवाको रुपमा परिभाषित गरेको छ । सरकारले अत्यावश्यक सेवा अन्तर्गत समावेश गरेको बीमा सेवा दुई दिनदेखि ठप्प हुँदा पनि नियामक नेपाल बीमा प्राधिकरण मौन रहँदै आएको छ । स्रोतका अनुसार नेपाल बीमक संघसँग नियामक निकाय बीमा प्राधिकरणको मिलेमतोमा अत्यावश्यक सेवा ठप्प पारिएको हो ।

 

हिजोदेखि बन्द गरिएको पशुपंक्षी तथा कृषि बीमाबाट हजारौं किसानहरु प्रभावित भएका छन् । किसानका भैंसी, गाईबस्तु, बाख्रा, कुखुराको बीमा रोकिएको छ भने बाली लगायतका बीमा पोलिसीहरु नविकरण रोकिएका छन् । त्यस्तै पशुपंक्षी मरेपछि किसानले पाउने क्षतिपूर्ति अर्थात बीमा दावी भुक्तानी प्रक्रिया पनि सबै ठप्प भएको छ । नेपाल बीमा प्राधिकरणका उच्च अधिकारी पनि हिजोदेखि पशु तथा कृषि बीमा रोकिएको स्वीकार गरेको छ ।

उता, डोल्पाबाट प्राप्त जानकारी अनुसार आजै नेपाल बीमा प्राधिकरणको बीमा सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रममा आम सर्वसाधारणले सोधेका छन्, बीमा सेवा सार्वजनिक हो वा होइन, सरकारले सार्वजनिक बीमा सेवा कसरी रोकियो भन्दै प्रश्न गरेको कार्यक्रमका सहभागी नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले बताए ।

बीमा कम्पनीहरुलाई नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत तिर्नुपर्ने २०७७ सालदेखिको बीमा शुल्क अनुदानको रकम नपाएको भन्दै कृषि बीमा पोलिसी गरेर १५ वटा बीमा कम्पनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले उक्त रकम नपाएसम्म बीमा पोलिसी जारी नगर्ने अडान लिँदै आएका छन् ।

उता, गृहमन्त्रायले भने सरकारले अत्यावश्यक सेवा रोक्ने अधिकार कसैलाई नभएको र त्यस्तो पाइएमा तत्कालै कारवाही प्रक्रिया सुरु हुने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*