जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी १७ प्रतिशतले बढ्यो, बृद्धिदरमा सन नेपाल र प्रभु लाइफ अगाडी (तथ्याङ्कसहित)

६ जेष्ठ २०८०, शनिबार ०७:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ४१ अर्ब ६८ करोड ६ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेकोछ ।
१७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको खुद दाबी भुक्तानी गत आवको तुलनामा १७ प्रतिशतले बढ्न पुगेको हो । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले ३५ अर्ब ४१ करोड ३० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफले ११ अर्ब ८२ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको हो । त्यस्तै, दोस्रोमा एलआइसी नेपालले पनि सो अवधिसम्म जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै ६ अर्ब ५३ करोड ३२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

जीवन बीमा कम्पनीहरुमा दाबी भुक्तानी बढ्दै जाँदा बीमितहरुले गर्ने विश्वास बढ्दै जाने हुन्छ भने अनाधिकृत रुपमा ह्वात्तै बढ्दा कम्पनीको जोखिमाङ्कन समेत उत्तीकै बढ्ने सम्भावना रहन्छ । तर जीवन बीमा कम्पनीहरुको बीमा दाबी भुक्तानी उत्तरदायित्व पनि रहने हुन्छ । बीमितहरुले कम्पनीमा सीमित बीमाङ्कीय रकमको बीमा गराइसकेपछि बीमा अवधि परिपक्व भइसकेपछि वा सो अगावै मृत्यु भएको खण्डमा दाबी भुक्तानी गर्नुपर्ने कम्पनीको उत्तरदायित्व हो ।

जसअनुसार नेशनल लाइफ इन्स्योरेन्सले पनि चैत मसान्तसम्म ५ अर्ब ५७ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, सरकारी स्वाामित्वको राष्ट्रिय बीमा संस्थानले पनि चालु आवको ९ महिनासम्ममा ३ अर्ब २३ करोड रुपैयाँमाथिको दाबी भुक्तानी गरेको छ ।

समग्रमा १३ जीवन बीमा कम्पनीको दाबी भुक्तानी गत वर्षको तुलनामा बढ्न पुगेको छ भने चार जीवन बीमा कम्पनीको दाबी भुक्तानी घट्न पुगेको छ । गत वर्षको तुलनामा सबैभन्दा बढी दाबी भुक्तानी बढ्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको गत वर्षको तुलनामा यस अवधिसम्म १४३.७५ प्रतिशत बढीले खुद दाबी भुक्तानी बढेको छ ।

त्यस्तै, दोस्रोमा प्रभु लाइफको पनि यस अवधिसम्म ८४.७४ प्रतिशत बढीले बीमा दाबी भुक्तानी बढेको छ भने एलआइसी नेपालको पनि ६४.७४ प्रतिशतले बढेको छ । साथै महालक्ष्मी लाइफको ४६.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४५.५६ प्रतिशत, रिलायबल नेपालको ४४.१२ प्रतिशत, सिटिजन लाइफको ३९.७२ प्रतिशत, नेशनलको ३७.२४ प्रतिशत, एशियनको ३२.८३ प्रतिशत, आइएमईको २७.१९ प्रतिशत, नेपालको ११.४४ प्रतिशतले खुद दाबी भुक्तानी बढेको छ ।

त्यस्तै गत वर्षको तुलनामा यस अवधिसम्म चार जीवन बीमा कम्पनीको खुद दाबी भुक्तानी भने घट्न पुगेको छ । सबैभन्दा बढी घट्ने कम्पनीमा मेट लाइफ रहेको छ । मेट लाइफको २९.९४ प्रतिशत, साविक गुराँस लाइफको १५.९३ प्रतिशत, सुर्यज्योति लाइफको ९.१७ प्रतिशत र साविक युनियन लाइफको ७.१३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*