३२ लघुवित्तको खराब कर्जा सीमाबाहिर, ११ संस्थाको अवस्था नाजुक (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा चुलिँदै गएको छ । लघुवित्त संस्थाहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ३२ लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात (एनपीएल) सीमा बाहिर रहेको देखिएको छ ।
गत आर्थिक वर्षको तुलनामा अधिकांश लघुवित्त संस्थाहरुको खराब कर्जा चुलिँदै गएको वित्तीय विवरणले देखाएको छ । ३२ मध्ये पनि ११ संस्थाको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ । जसअनुसार उक्त लघुवित्त संस्थाहरु अब कर्जा परिचालन गर्न नसक्ने अवस्थामा रहेको बुझिन्छ ।
नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल अधिकतममा ५ प्रतिशतसम्म रहेकोलाई मात्रै जोखिममुक्त रहेको मानिन्छ । सो प्रतिशत भन्दा बढी एनपीएल हुन गएमा बैंक तथा वित्तीय संस्थाको जोखिम बढ्दै जाने र अधिकांश सूचक खस्किन सक्ने सम्भावना बढ्दै जान्छ । तेस्रो त्रैमाससम्ममा ३२ लघुवित्त संस्थाको एनपीएल ५ प्रतिशतभन्दा बढी रहेको छ । यसकारण पनि सो अवधिसम्म लघुवित्त संस्थाहरुको मुनाफामा संकुचन देखिएको हो ।
ब्याज आम्दानीबाटै प्रोफिट गर्ने संस्थाहरुले कर्जा लगानी गर्दा अधिकतम कर्जा निष्क्रिय हुन पुग्दा ब्याज आम्दानी घट्न पुगेको रिर्पोटले देखाएको छ । यसरी ब्याज आम्दानी घटेपछि संस्थाहरुको टोटल प्रोफिट गत आवको तुलनामा घट्न पुगेको देखिएको छ ।
केही समयअघि विभिन्न लघुवित्त विरुद्धको संघर्ष समितिहरुले कर्जाको ब्याजदर उच्च रहेको भन्दै साँवा र ब्याज नतिर्ने जस्ता विभिन्न पहलहरु गरेका थिए । विभिन्न संघहरु बनाएर लघुवित्त संस्थाहरु खारेज गरिनुपर्ने खालका मागहरु राख्दै आएकोले गर्दा पनि लघुवित्तका सदस्यहरु अब आफुले लिएको कर्जा भुक्तानी गर्नुनपर्ने सोचाईले गर्दा लघुवित्त संस्थाहरुमा निष्क्रिय कर्जा थुप्रिन पुगेको हो ।
चैत मसान्तसम्ममा सबैभन्दा बढी एनपीएल हुने संस्थामा सामुदायिक लघुवित्त रहेको छ । सामुदायिकको निष्क्रिय कर्जा सो अवधिसम्म १४.२१ प्रतिशत रहेको छ । साथै इन्फिनिटीको १४.०४ प्रतिशत, उन्नती सहकार्यको १३.४७ प्रतिशत, स्वाबलम्बनको १३.४७ प्रतिशत, धौलागिरीको १२.४५ प्रतिशत, विन नेपालको १२.१५ प्रतिशत, निर्धन उत्थानको १२.०९ प्रतिशत, मनकामना स्मार्टको ११.९५ प्रतिशत, जनउत्थानको ११.४८ प्रतिशत, आरम्भ चौतारीको १०.५८ प्रतिशत र युनिक नेपालको १०.२९ प्रतिशत रहेको छ । यी ११ लघुवित्तको अवस्था नाजुक रहेको छ । खराब कर्जा बढ्दै जाँदा संस्थाको क्षमता घट्दै जाने सम्भावना रहन्छ ।